धरान: आज एकैदिन नेपालमा ५८६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५८६ जनामा संक्रमण पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार प्रदेश १ का मोरंग, झापा र उदयपुरमा १५ जना संक्रमित पुष्टि भएका छन् । उनका अनुसार मोरंगमा ९ जना पुरुष, झापामा २ जना पुरुष संक्रमण पुष्टि भएको छ भने उदयपुरका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

एक महिलाको मृत्युपछि कोभिड पुष्टि

बाँकेमा उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोभिड १९ पोजेटिभ पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीय महिला जेठ ३० गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी थिइने । उनी मृगौलाका विरामी थिइन् । उनको असार १ गते स्वाब संकलन गरेर भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्न पठाएको र रिपोर्ट नआउदै १ गते साँझ ६ बजे मृत्यु भएको थियो । उनको असार २ गते रिपोर्ट कोभिड पोजेटिभ आएको र मृतकको संख्या २० पुगेको पनि प्रवक्ता डा.गौतमले जानकारी दिए ।