विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मापदण्ड विपरीतका क्वारेन्टाइन बन्द गर्न निर्देशन दिएका छन् ।

आज झापाका विभिन्न विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनको अनुगमन गर्न पुगेका मन्त्री घिमिरले यस्तो निर्देशन दिएका हुन् । उनले कोरोना प्रभावित क्षेत्र कचनकवल र भद्रपुरमा निर्माण गरिएका क्वारेन्टाईनको अनुगमन गरेका थिए । अनुगमनसँगै मन्त्री घिमिरेले मापदण्ड विपरीतका क्वारेन्टाईन तत्काल बन्द गर्न निर्देशन दिएका हुन् । ‘बस्तुगत अवस्थाको अवलोकन गरि मापदण्ड विपरितकालाई बन्द गर्न स्थानीय तहका प्रमुखलाई भनिएको छ,’मन्त्री घिमिरले भने ।

अनुगमनको क्रममा स्थानीयस्तरमा निर्माण गरिएका केही क्वारेन्टाईन अस्तव्यस्त देखिएकाले बन्द गर्न निर्देशन दिइएको उनले बताए । मन्त्री घिमिरेले कचनकवलका बढी संक्रमित देखिएका क्वारेन्टाईनहरुको अनुगमन गरेका थिए । अनुगमनका क्रममा होल्डिङ एरियामा रहेकाहरुलाई क्वारेन्टाईनको अनुशासन पालना गर्न पनि मन्त्री घिमिरले आग्रह गरे ।

अनुगमनमा मन्त्री घिमिरेसँगै प्रदेश सांसद बसन्त बानियाँ, ओमप्रकाश सरावगी, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला लगायत पनि थिए । उनीहरुले कचनकवलको वडा नं. ६ मा रहेको लक्ष्मी मावि क्वारेन्टाईन, वडा नं. ४ को महेन्द्र रत्न मावि क्वारेन्टाईन र वडा नं. ३ को पथरीया मावि क्वारेन्टाईन, भद्रपुर नगरपालिका वडा नं.२ को हिमाली मावि क्वारेन्टाईन लगायतको अनुगमन गरेका थिए । मन्त्री घिमिरेले मेची नगरनगरपालिको काकडभिट्टा मावि होल्डिङ एरिया, धाईजन स्वास्थ्य चौकी र कनकाई नगरपालिका अवस्थाबारे नगर प्रमुख राजेन्द्र पोखरेलसँग जानकारी पनि लिए ।

धाईजनमा ३० वेडको उपचार केन्द्र सञ्चालनको तयारी

Dhaijan

झापाको मेची नगरपालिकाले तयार गरेको कोरोना संक्रमितको उपचार केन्द्र सञ्चालनको तयारी गरिएको छ । प्रदेश सरकारको निर्णय अनुसार नगरपालिकाले तयार गरेको आईसोलेसन उपचार केन्द्रको सामाजिक विकास मन्त्री घिमिरे, प्रदेश सांसद बसन्त बानियाँ लगायतले अनुगमन गरेका थिए ।

३० बेडको आईसोलेसन उपचार केन्द्र शुक्रबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । उपचार केन्द्रका लागि आवस्यक वेड लगायतका सामाग्री व्यवस्थापनको काम भोली सम्ममा सम्पन्न गरिने नगर प्रमुख विमल आचार्यले बताए । उपचार केन्द्रका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । उपचार केन्द्र सञ्चालन पुर्व स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिने मन्त्री घिमिरेले बताए ।

कचनकवललाई स्वास्थ्य सामाग्री प्रदान

kachankabal

कोरोना प्रभावित क्षेत्र झापाको कचनकवललाई प्रदेश सरकारले स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ । नगर प्रमुख अञ्जरा आलमलाई पीपीई सेट, गाउन, एन ९५ मास्क, सर्जीकल मास्क, ग्लोब्स, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री घिमिरेले प्रदान गरेका हुन् ।

बनियानीमा आयोजित एक कार्यक्रमका वीच स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पीसीआर परीक्षणको दर बढाउन आग्रह गरेका थिए । स्वास्थ्य कार्यालयका प्रमुख इश्वरीप्रसाद पौडेलले जिल्लामा संक्रमितको अवस्थाबारे जानकारी दिएका थिए ।