धरान: धरान क्षेत्रबाट संसदीय निर्वाचनमा जितेका हुन् वा पछिल्लो समय स्थानीय तह निर्वाचनमा जितेका हुन्, यहाँका जनप्रतिनिधिहरुले धरानको विकासमा केही गर्न सकेनन् भन्ने टिकाटिप्पणी हुने गरेको छ । तर, यहाँबाट निवार्चित जनप्रतिनिधिहरु भने यो टिप्पणी स्वीकार गर्दैनन् ।
आज दिउँसो धरान ८ सभागृहस्थित नाटक घर शिलान्यास कार्यक्रमकै कुरा गरौ न । शिलान्यास समारोहलाई सम्बोधन गर्दै संघीय सांसद जयकुमार राईले आक्रोशित मुद्रामा धरानमा केही भएन भन्ने आरोपलाई ठाडै खारेज गरे, र संघीय तथा प्रदेश सरकारको बजेटबाट धरानमा के के विकास निर्माणको कामहरु भइरहेको छ भन्ने फेहरिस्त प्रस्तुत गरे । उनले सम्बोधन गरेको भनाईको सम्पादित अंश यस्तो छ:
'तीनै तहको सरकारबाट विकास निर्माण अघि बढेको छ । धरानमा संघ र प्रदेशबाट करिब २ अर्बको योजना अघि बढेको छ । राष्ट्रिय गौरवको आयोजनाहरु मदन भण्डारी राजमार्ग यही धरान भएर गएको छ । किमाथांका–जोगवनी कोशी राजमार्ग पनि धरान भएर गएको छ । यो पनि धरानमा केही भएन भनेर भन्दिने ? सेउती कोरिडर भएर लैजाने कि बीचबाट लैजाने भनेर छलफल भइरहेको छ । सेउती वाइपास भएर लैजाने गरि र धरानको बीचको सडकलाई पनि कम क्षति गर्ने गरि विस्तार गर्ने छलफल भइरहेको छ ।
मदन भण्डारी राजमार्गको धरानदेखि पुर्वको सम्पुर्ण पुलहरु बन्ने अनि सडक निर्माणको कामहरु पनि प्रारम्भ गर्ने भनेर नीति तथा कार्यक्रममा आइसकेको छ । मदन भण्डारी राजमार्ग पनि वीपी प्रतिष्ठान दक्षिणबाट जंगलमाथिको सडक हुदै तीनकुने ढाटबाट पानवरी भएर जाने गरि सर्वे हुदैछ । राष्ट्रपति चुरे संरक्षण क्षेत्रको बजेट ल्याएर तटबन्धनको काम हुदैछ । चुनावी घोषणा पत्रमा नै भनेका थियौं, धरान पुरानो व्यापारिक सहर हो तर बाटो विस्तार हुदै गर्दा बजार पनि सर्दै गयो । विकासको गतिले पनि बजार सर्दै गयो । धरानमा केही भएन भनेर प्रश्न उठिरहेकोले यो के भएको हो त भनेर यहाँ उल्लेख गरेको हुँ ।
त्यो विकासको गतिलाई रोक्न सक्दैनौ तर पुरोना व्यापारिक सहरकोरुपमा फर्काउनको लागि धरानलाई चारै तिरबाट सडक सञ्जालले, पुलले जोड्नुपर्छ भनेर चुनावी सभाहरुमा बोलेको थिएँ । सोही अनुरुप संघीय सरकारको बजेटबाट अहिलेको बजेटमा ९ वटा पुलहरु निर्माण भइरुहेको छ । मदन भण्डारी राजमार्गअन्र्तगत ठकुरी खोलामा पौने ३ करोडको लागतमा पुल बन्दैछ । सर्दु खोलामा पनि २५ करोड बढी लागतमा बनेको छ । पटनालीमा पनि पुल बनेको छ । बक्लौरीसम्म सडक सञ्जालले जोडिनुपर्छ भनेर पोहोर आर्थिक बर्षमा ४० लाख बजेट विनियोजना गरियो । अहिले तपाईहरु त्यही बाटो भएर हिडिरहनुभएको छ । त्यही बाटोमा १० करोडको लागतमा सेउतीमा पुल हुदैछ । त्यो पुल धरान लक्षित नै हो ।
अहिले धरान १५ र वडा नं ५ को खोरिया सेउती खोलमा पुल निर्माण भइरहकेो छ । त्यो पनि केही नै भएन धरानमा अब ? त्यो पुल कहाँको बजेटबाट बनिरहेको छ त ? यहाँको जनप्रतिनिधिले केही नै गरेन भन्ने ? त्यो चै कहाँबाट आयो ? हामीले पहल गरेर संघीय सरकारबाट बजेट विनियोजित भएर पुल बन्दैछ । त्यहाँबाट फेरि एक सय मिटर पर्तिर अधेरी खोलामा साढे ६ करोडको पुल बन्दैछ, त्यो पनि केही होइन ?
मंगलबारेबाट विष्णुपादुका जाने बाटोमा सर्दु खोलामा साढे ८ करोड लागतमा पुल बनिरहेको छ । संघीय सरकारबाट अर्को निराजन बस्तीबाट पर्तिर काठे पुलमा साढे ३ करोडको लागतमा संघीय सरकारबाटै बजेट विनियोजन भएर पुल बन्दैछ । धरान १३ मा पनि प्रदेश सरकारबाट पुल बन्दैछ । खेलकुदको विकासमा, पर्यटन विकासमा पनि बजेट विनियोजन भएर विजयपुरमा काम हुदैछ । नेताहरुले प्रदेश सरकारबाट तटबन्धन र सडक निर्माणमा कामहरु भइरहेको छ ।
अब यो नाटक घर निर्माणमा कसैले शंका नगरे हुन्छ । धरानेहरुको बिशेषत भनेको सोचिसके पछि थालिसके पछि पुरा गरेरै छोड्छ । यो ५ करोड बजेट ठुलै भएपनि हामीले आट्यौं, हामी पुरा गछौं, यो धरानेको बिशेषता हो । मेरो कार्यकाल भरि सुनसरी क्षेत्र नं १ को हरेक विकासको निम्ति सहकार्य गरेर, छलफल गरेर अघि बढ्छुँ ।'