धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले कर्मचारी प्रशासन शाखा प्रमुखलाई अतिरिक्त अधिकारहरु प्रत्यायोजन गरेका छन् ।

उपकुलपति डा.गिरीले शाखा प्रमुख उमेश कोइरालालाई एक पटकमा २५ हजारसम्म खर्च स्वीकृत गर्नसक्नेसहित विभिन्न थप अधिकारहरु दिएका हुन् । विगतमा पदाधिकारीहरुले मात्र प्रमाणित गर्दै आएको प्रतिष्ठानको शिक्षक र कर्मचारीको परिचय पत्रलाई प्रमाणित गर्ने अधिकार पनि कोइरालाले पाएका छन् । विगतमा कर्मचारीको परिचय पत्र रजिष्ट्रारले प्रमाणित गर्ने गरेको थियो ।

उपकुलपति डा.गिरीले प्रतिष्ठानको नियमावली २०५५ को नियम ६.५ को उपनियम(७) वमाजिम अधिकार प्रत्यायोजन गरेको दाबी गरेका छन् । उपकुलपतिले कोइरालालाई रजिष्ट्रारको अधिकार प्रत्यायोजन गरेको प्रतिष्ठानका कर्मचारी एवं चिकित्सकहरुबीच चर्चा छ । प्रतिष्ठान लामो समयदेखि रजिष्ट्रारविहिन छ । प्रतिष्ठानमा उपकुलपतिमा नियुक्ती भएपछि भने अस्पताल निर्देशक र रजिष्ट्रारलाई आर्थिक अधिकार प्रत्यायोजन गर्नुपर्ने हुन्छ । डा.गिरी उपकुलपति नियुक्ती भएपछि अस्पताल निर्देशक डा.गौरीशंकर साहलाई भने अहिलेसम्म अधिकार दिएका छैनन् । कर्मचारी प्रशासन शाखा प्रमुख कोइरालालाई अधिकार प्रत्यायोजन गरेको पत्रको बुँदा नं ७ मा प्रतिष्ठानको विभिन्न विभाग, महाशाखा, शाखामा हुने चिया खर्च र अन्य फुटकर खर्च वापतको एक पटकमा २५ हजारसम्म खर्च स्वीकृत गर्ने अधिकार दिइएको छ ।

bp-letter

यस्तै, बुँदा नं ३ मा शिक्षकको पनि अनुभव तथा चारित्रिक प्रमाण पत्र, सिफारिश पत्रहरु प्रमाणित गरेर उपलब्ध गराउने अधिकार दिइएको छ । यसले रेक्टरको पनि अधिकारमा हस्तक्षेप हुनसक्ने एक कर्मचारी बताउँछन् । यस्तै, डा.गिरीले शिक्षक र अधिकृत तहका कर्मचारी बाहेकको आधा दिनको दैनिक भ्रमण भत्ता नियम अनुसार स्वीकृत गर्ने, विभिन्न विभाग, महाशाखा, शाखाबाट माग भई आएका जनरल स्टोरतर्फका माग फारमहरु स्वीकृत गर्ने, प्रतिष्ठानको शिक्षक र कर्मचारीहरुको परिचयपत्र प्रमाणित गर्नेलगायत ८ वटा अधिकार प्रत्यायोजन गरेका छन् । उक्त पत्रको बुँदा नं ९ मा भने ती अधिकारहरु प्रत्योग गर्दा अन्य पदाधिकारीहरु तथा अधिकारीहरुसँग आपसी समन्वय गरी गर्न पनि उल्लेख छ ।