धरानः  औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लागेकाे छ । नेपालमा बिहान १०ः५० देखि सुर्यग्रहण  लागेकाे हो । बिहान १०:५० देखि सुरु भएकाे ग्रहणको मध्यसमय मध्यान्ह १२ः३८ बजे हुनेछ भने दिउँसो ०२ः२३ बजे ग्रहण समाप्त हुनेछ ।

यसरी नेपालमा आईतबार लाग्ने खण्डग्रास सूर्य ग्रहण ३ घण्टा ३३ मिनेटको हुनेछ । ग्रहणको समयमा नकारात्मक विकिरणहरुको प्रवाह बढी हुने भएकाले यस समयमा सूतक लाग्ने धर्मशास्त्रीहरुको भनाई छ । सूर्य ग्रहणको ४ प्रहर अर्थात १२ घण्टा र चन्द्रग्रहणको ३ प्रहर अर्थात ९ घण्टा अघि नै सूतक लाग्ने उनीहरूको मान्यता छ । यसकारण आज लाग्ने खण्डग्रास सूर्य ग्रहणको सूतक समय असार ६ गते शनिबार राती १०ः५० बजेदेखि नै शुरु भईसकेको छ ।

नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो भने यो बर्ष नेपालबाट अरु कुनै पनि ग्रहण नदेखिने जनाईएको छ । यो खण्डग्रास सूर्य ग्रहण नेपालबाट मात्र नभई विश्वका अन्य देशहरुबाट पनि देख्न सकिन्छ ।

यस ग्रहणलाई भारत, पाकिस्तान, श्रीलङका, माल्दिभ्स, भूटान, चीन, म्यान्मार, अफगानिस्तान, अफ्रिका, अष्ट्रेलिया, अमेरिकाका, अन्टार्टिका, साउदी अरब, कङ्गो, इथोपिया र युरोप लगायत एशिया महादेशका विभिन्न देशहरुबाट देख्न सकिने छ ।