धरान: नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले आज नियमित मिडिया ब्रिफिङमा ४२१ जनाको पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएको जानकारी दिए । ती मध्ये ६४ महिला र ३५७ पुरुष भएको पनि उनले बताए । आजसम्म कुल संक्रमित संख्या ९०२६ जना भएको पनि उनले बताए । यस्तै, पछिल्लो २४ घण्टामा १९४ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या भने १७७२ पुगेको पनि डा.गौतमले बताए ।

गुल्मीमा एक जनाको मृत्यु

गुल्मीमा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार भारतबाट फर्किएका ६९ बर्षीय वृद्धको होम क्वारेन्टाइनमा रहेको अवस्थामा असार ५ गते निधन भएको थियो ।

उनको स्वाब संकलन गरेर परीक्षण गर्दा हिजो कोरोना संक्रमण पुष्टि भएको डा.गौतमले जानकारी दिए । मृतक प्यारालाइसिसको विरामी भएको र उपचारको क्रममा भारत गएर फर्किएदेखि होम क्वारेन्टाइनमा नै बसेको पनि डा. गौतमले बताए ।