धरान: प्रहरीले नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्जलाई हतियारसहित धरानबाट पक्राउ गरेको छ ।
गए राती धनकुटा शहिदभुमी गाउँपालिका ६ का २७ बर्षीय रोशन राईलाई धरान १५ बाट पक्राउ गरेको हो । उनलाई बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । उनलाई सोधपुछ गर्ने क्रममा आज बिहान मोटरसाइकलको सिट मुनी प्लाष्टिक भित्र लुकाएको अवस्थामा हतियार र गोलीसमेत वरामद भएको धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ परेका राई नेकपा विप्लव समुहको सुनसरी जिल्ला इञ्चार्जको जिम्मेवारीमा छन् ।
उनको साथबाट मेडि इन युएसए अटोमेटिक पेस्तोल लेखेको एक थान वरामद भएको छ भने एक थान म्याग्जीन र त्यसमा लोड भएको ३ राउण्ड गोली पनि वरामद भएको छ । साथै, २ थान मोवाइल र ६ थान सिम पनि वरामद भएको छ । पक्राउ परेका राईलाई हातहतियार खरखजना मुद्दामा अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान जारी रहेको डिएसपी बस्नेतले जानकारी दिए ।