धरान: पुर्वपश्चिम राजमार्गअन्र्तगत कानेपोखरी पथरी सडक खण्डमा बिहिबार राती भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

पुर्वबाट पश्चिमतर्फ आइरहेको बा १४ प ९६४३ नम्बरको स्कारपियोको ठक्करले पैदल यात्री महिला र मोटरसाइकललाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका २ का ३८ बर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका ४ का ३१ बर्षीय लोकेन्द्रबहादुर लिम्बु रहेका छन् । मृतक पैदलयात्री महिलाको भने अहिलेसम्म सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घटना हिजो राती करिब ८ बजेतिर भएको हो । घटनास्थल पथरीबाट करिब डेढ किलोमिटरको दुरीमा रहेको छ । शुरुमा स्कारपियोले सडकमा हिडिरहेकी महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भएर विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई पनि ठक्कर दिएको प्रहरीको भनाई छ । मोटरसाइकल चालकलाई उपचारको लागि विराटनगर लगिएको थियो भने घाइते महिला र मोटरसाइकलमा सवार अर्का व्यक्तिलाई मंगलबारे अस्पताल लगिएको थियो । तीनै जनाको अस्पतालमा मृत्यु भएको पथरी प्रहरीको भनाई छ । स्कारपियो चालक इटहरी ४ का महेन्द्रबहादुर थापा र गाडी पथरी प्रहरीको नियन्त्रणमा रहेको छ ।