सुनसरी: सुनसरी जिल्लामा आज थप १० जना कोरोना संक्रमित पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

संक्रमितहरु कोशी गाउँपालिकास्थित क्वारेन्टाइन र देवानगञ्ज गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरु हुन् । उनीहरु सबै भारतबाट आएको जिल्ला जनस्वास्थ्य कार्यालयकी कोरोना फोकल पर्सन सृर्जना लिंथेपले जानकारी दिइन् । उनका अनुसार कोशी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनामा संक्रमण पुष्टि भएको छ भने देवानगञ्जको क्वारेन्टाइनमा रहेका २ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमध्ये ४ जना महिला हुन् भने ६ जना पुरुष छन् । उनीहरुमध्ये एक जना ९ जना भारतबाट सिधै क्वारेन्टाइनमा बस्न आएका थिए । एक जना मात्र घरबाट क्वारेन्टाइनमा आएकोले थप कन्ट्याक ट्रेसिङ गर्नुपर्ने अवस्था छ । संक्रमितमध्ये देवानगञ्जका एक महिला र एक पुरुष हुन् भने बाँकी कोशी गाउँपालिकास्थित क्वारेन्टाइनमा हुन् । उनीहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गोठगाउँस्थिन आइसोलेसन सेन्टर र कोशी कोभिड अस्पतालमा पठाउन आवश्यक समन्वय भइरहेको फोकल पर्सन लिंथेपले बताइन् । उनका अनुसार सुनसरीमा कुल संक्रमित संख्या ८५ पुगेको छ ।