धरान: बिश्वभर छरिएर नियमित दौड़मा लागेका नेपालीहरूको समुह 'नेपाल रन' बेलायत र धरान रन समुहले बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई १५० थान पीपीई सेट प्रदान गरेको छ ।
बेलायतबाट शुरु गरिएको लकडाउन फिटनेस च्यालेन्ज शारीरिक तन्दुरुस्ती चेतना अभियानमार्फत संकलन भएको १ लाख रुपैयाले कोरोना सामग्री पिपिई किट खरीद गरेर प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । धरान रन समुहको टोलीले आज प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई पिपिई किट हस्तान्तरण गरेको थियो । समुहका अध्यक्ष रमु राईले लकडाउन फिटनेस च्यालेन्जबाट संकलित करिब १ लाख रुपैयाबाट १५० थान पीपीई सेट र एन ९५ मास्क ख़रीद गरेर प्रतिष्ठानलाई उपलब्ध गराएको जानकारी दिए ।
बिश्वब्यापीरुपमा शारीरिक तन्दुरूस्ती च्यालेन्ज अभियानले धेरैमा नियमित ब्यायामको चेतना बिकास गर्न सफल भएको छ । धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले रकम संकलन भन्दा पनि अभियानको उद्देश्य शारीरिक तन्दुरूस्तीको चेतना फैलाउनु रहेको र सफल पनि भएको बताए । महामारीको बेला स्वास्थ्यको लागी दौड र ब्यायामको संस्कारलाई विकास गरेर रोग ब्याधीबाट बाच्न चेतनाको बिकास गर्ने अभियानबाट आर्थिक सहयोग पनि जुटाएरसहयोग गर्न पाउदा खुशी लागेको नेपाल रन बेलायत समूहका पाण्डव महतोले बताए। महतो क्यान्सर रोगलाई पनि जितेर निरन्तर दौड़मा लागेका अभियन्ता हुन् ।
अभियन्ता जगन कार्कीले शारीरिक निष्क्रियताले स्वास्थ्य समस्या बढाउने भएकोले त्यसविरुद्ध सचेत भई एकअर्कालाई ब्यायाम गर्न चुनौती प्रस्तुत गर्दै प्रोत्साहित गर्ने अभियानमा सहभागी सबैलाई धन्यवाद ब्यक्त गरे । साथै, उनले शारीरिक तन्दुरुस्ती अभियान जारी रहने पनि बताए । अभियान मार्फ़त एक ब्यक्तिले १० जनालाई आफूले जस्तै शारीरिक अभ्यास गरेर फोटो, भिडियो पोस्ट गर्न र सानो रक़म सहयोग गर्न अनुरोध गरिएको थियो ।
तस्बिर: सनम तामाङ