धरान: विदेशबाट आएर धरानमा क्वारेन्टाइनमा बसेका ३४ जनासहित कुल ४१ जनाको आज स्वाबको नमुना संकलन गरिएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २५ जना एन्फा क्वारेन्टाइनमा रहेकाहरुको स्वाबको नमुना लिइएको छ भने ९ जना होटल क्वारेन्टाइनमा रहेकाहरुको नमुना संकलन गरिएको छ । यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अभिभावक भएका र भारतबाट अध्ययन गरेर फर्किएका ३ जना विद्यार्थीहरुको पनि स्वाबको नमुना लिइएको मेहताले जानकारी दिए । उनका अनुसार ती विद्यार्थीहरु भारतबाट आएपछि सुरक्षितरुपमा होम क्वारेन्टाइनमा नै बसिरहेका छन् ।
यस्तै, बाँकी एन्फा क्वारेन्टाइनको सुरक्षामा खटिएका र चतरास्थित होल्डिङ एरियाको सुरक्षामा खटिएका नेपाली सेनाको स्वाब संकलन गरिएको मेहताले बतए । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा संकलन गरिएको स्वाबको नमुना वीपी प्रतिष्ठानमा परीक्षणको लागि पठाइएकोछ । यसअघि, शुक्रबार धरान १३ स्थित संघीय प्रहरी ईकाईमा कार्यरत १५ जना प्रहरीको पनि स्वाबको नमुना लिइएको स्वास्थ्य महाशाखाले जनाएको छ । संघीय प्रहरी कार्यालयमा फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयमा कार्यरत ३ जना सेना र २ जना विदेशबाट आएको सर्वसाधारणहरुको पनि स्वाबको नमुना संकलन गरिएको मेहताले जानकारी दिए ।