धरान: लकडाउनको समयमा उपचार सेवा दिएको हातेमालो फाउण्डेसनले एक हजार भन्दा बढीलाई हेल्पलाइन सेवा प्रदान गरेको छ ।
सरकारले लकडाउन खुकुलो बनाएको साथै ओपिडी सेवा पनि सुचारु भएको भन्दै फाउण्डेसनले हेल्पलाइन सेवालाई बन्द गरेको घोषणा पनि गरेको छ । कोरोनाको कारण अस्पतालमा अन्य सेवा रोकिदा विरामीहरुले उपचार पाउन नसके पछि हातेमालोले से्वा शुरु गरेको थियो । लकडाउन यता मात्र फाउण्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको जनाएको छ ।
फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमा पुगेर पनि सेवा दिएको जनाएको छ । यस्तै, सामाजिक सञ्जालमार्फत १ सय २० जना सेवा दिएको अध्यक्ष डा.इन्द्र लिम्बुले बताए । यस्तै, विभिन्न स्थानमा रहेका स्वास्थ्य शिविर समेत आयोजना गरेको उनले बताए । फाउण्डेसनले विभिन्न संघ संस्थासँग समन्वय गरेर वीपी प्रतिष्ठानलाई स्वास्थ्य सामग्री पनि प्रदान गरेको थियो । ‘लकडाउन खुकुलो भएकोले हेल्पलाइन सेवा बन्द गरेका छौं, तर सामाजिक सञ्जालबाट दिइने सेवालाई निरन्तरता दिएका छौं,’अध्यक्ष लिम्बुले भने,‘हाम्रो फेसबुक पेजमा गएर आफ्नो समस्या राख्न सक्नुहुन्छ ।’
यो फाउण्डेसन धरानमा रहेका चिकित्सकहरु मिलेर स्थापना भएको संस्था हो । चिकित्सक र सर्वसाधारण बीच दुरी कम गरेर सुमधुर सम्बन्ध बनाउने र सरल तरिकाले उपचार सेवा दिने उद्देश्यले फाउण्डेसनले स्थापना गरिएको हो । संस्थाले समुदायमा स्वास्थ्य शिविर आयोजना गर्दै निःशुल्क औषधी वितरण पनि गर्दै आएको छ ।