धरान: धरानको होटल र एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका ३५ जना डिस्चार्ज भएका छन् ।
आज उनीहरुको स्वाब परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार असार १५ गते ४१ जनाको स्वाब संकलन भएको थियो । ती मध्ये ५ जनाको रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको थियो । ‘आज बाँकी सबैको रिपोर्ट नेगेटिभ नै आयो, र सबैलाई डिस्चार्ज गरिएको छ,’उनले भने । डिस्चार्ज भएकाहरु २५ जना एन्फा क्वारेन्टाइनमा थिए भने १० जना होटल क्वारेन्टाइनमा थिए ।
आज २२ जनाको स्वाब संकलन
आज थप २२ जनाको स्वाब संकलन गरिएको छ । ती मध्ये १३ जना पुरुष छन् भने ९ जना महिला छन् । एन्फा क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी डुका घिसिङका अनुसार स्वाब संकलन भएका मध्ये होटल क्वारेन्टाइनमा रहेका १८ जना हुन् भने ३ जना सुरक्षाकर्मी र एक जना धरान ९ का होम क्वारेनटाइनमा रहेका व्यक्ति हुन् ।
क्वारेन्टाइनमा १२ जना थपिए
आज एन्फा एकेडेमी क्वारेन्टाइनमा १२ जना थपिएका छन् । ती मध्ये ५ जना महिला र ७ जना पुरुष हुन् । उनीहरुमध्ये ६ जना काकडभिट्टा नाका हुदै भारतबाट आएका हुन् भने ४ जना माल्दिभ्स र २ जना कुवेतबाट आएको स्वास्थ्यकर्मी घिसिङले बताइन् । उनका अनुसार क्वारेन्टाइनमा रहनेहरुको कुल संख्या ४३ जना छन् ।