विराटनगर: प्रदेश १ सरकारले कोभिड १९(कोरोना भाइरस) संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा गरिएको कार्य एवं खर्चहरुको सम्पुर्ण विवरण सार्वजनिक गरेको छ ।
सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च भएको जानकारी दिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले स्थापना गरेको जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार खर्च भएको छ । यस्तै, मन्त्रालयको नियमित बजेटबाट ४ करोड ८१ लाख १८ हजार र संघीय सरकारबाट प्राप्त भएको २ करोड ७० लाख रुपैयाँ खर्च भएको सरकारले जानकारी दिएको छ ।
सामाजिक विकास मन्त्रालयले आइसोलेसन अस्पताल स्थापना, सञ्चालन तथा व्यवस्थापन, स्वास्थ्य उपकरण खरीदलगायतमा करिब १० करोड रुपैयाँ खर्च गरेको जानकारी दिइएको छ । यसैगरि, कोरोना परीक्षण, उपचार व्यवस्था, संक्रमित तथा स्वास्थ्यकर्मीको खाना, खाजालगायतमा ९ करोड ९० लाख ८९ हजार खर्च भएको छ ।
यस्तै, क्वारेन्टाइन, होल्डिङ एरिया, सुरक्षा व्यवस्था तथा स्थानीय तहमा राहत वितरणलगायतको लागि १५ करोड ३४ लाख खर्च भएको छ । यो खर्च आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत होल्डिङ एरिया निर्माण, क्वारेन्टाइन निर्माण र सुरक्षामा खटिएका सुरक्षा युनिटको लागि भएको हो । यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र निर्माणका लागि २ करोड खर्च गरेको छ । प्रदेश १ को ४५२ स्थानमा क्वारेन्टाइनस्थल निर्माण गरिएको छ भने २४ स्थानमा होल्डिङ एरिया तयार गरिएको छ । यस्तै, विभिन्न ५२ स्थानमा ४४ बेडको आइसियुसहित ५०७ बेड आइसोलेसन तयार गरिएको छ ।
कोरोना नियन्त्रणको लागि प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा ३३ करोड ५४ लाख एक हजार ९ सय ४१ रुपैयाँ जम्मा भएको पनि जानकारी दिइएको छ । प्रदेश १ मा ६ सय ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको र तीमध्ये ४ सय ६ जना उपचार पछि घर फर्किएको सरकारले जानकारी दिएको छ । शुक्रबारसम्म २६ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएको र १८ हजार १ सय ५१ जनाको आरडीटी विधिबाट परीक्षण भएको छ ।
यस्तै, लकडाउनको समयमा प्रदेश १ को विभिन्न ४ वटा जिल्लाबाट विहिबारसम्म २४ हजार ८ सय १४ जना भारत गएको पनि सरकारले जानकारी दिएको छ । झापाबाट १९ हजार ९ सय ८१, मोरङबाट ४ हजार ७ सय २१, सुनसरीबाट १ सय १० र इलामबाट २ जना भारत गएका छन् । यसैगरि, उक्त अवधिमा भारतबाट १५ हजार ७ सय नेपाल प्रवेश गरेको पनि जानकारी दिइएको छ । नेपाल प्रवेश गरेका मध्ये ११ हजार ७ सय ४६ प्रदेश १ का नागरिकहरु हुन् भने ४ हजार १ अन्य प्रदेशका हुन् ।