धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० हजार भन्दा बढी पिसिआर परीक्षण भएको छ ।

प्रतिष्ठानमा तीन महिनाको अवधिमा १० हजार बढी स्वाबको नमुनाको परीक्षण भएको हो । प्रतिष्ठानमा चैत १६ गते पिसिआर परीक्षणको लागि ल्याब स्थापना गरिएको थियो । त्यसयता प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा १० हजार १ सय २३ स्वाबको पिसिआर परीक्षण भइसकेको छ । ती मध्ये ९ हजार ८ सय ५८ स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । यस्तै, २ सय ६७ वटा स्वाबको रिपोर्ट मात्र पोजेटिभ आएको छ ।

प्रदेश एकका सबैभन्दा पहिला वीपी प्रतिष्ठानमा नै पिसिआर परीक्षण शुरु भएको थियो भने उपत्यका बाहिर पनि पहिलो परीक्षण यही भएको थियो । यहाँ प्रदेश एकका विभिन्न जिल्लाबाट मात्र नभै प्रदेश १ को सिरहा, सप्तरी, सर्लाहीलगायत जिल्लाबाट पनि पिसिआर परीक्षणको लागि स्वाबको नमुना आउने गरेको छ । 

प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना पोजेटिभ भर्ना भएका छन् । उनीहरुसँगै हाल प्रतिष्ठानमा ५० जना पोजेटिभ व्यक्तिहरु उपचाररत अवस्थामा छन् । प्रतिष्ठानबाट हालसम्म २ सय जना पोजेटिभ व्यक्तिहरु कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।