काठमाडौं: नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन् ।

आईजीपीको कार्यभार सम्हाल्नुअघि उनलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेर हदका कारण बुधबारदेखि अवकाश पाउने भएपछि सरकारले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

आज कार्यभार सम्हाल्दै आइजिपी क्षेत्रीयले बर्दीमा दाग लगाउने प्रहरीमाथि निर्मम कारवाही हुने चेतावनी दिए । उनले आफ्नो स्वभाव नम्र भएको खुलाउदै त्यसलाई कमजोरी नठान्न पनि सुझाए । ‘कसैले पनि बर्दीमा दाग लगाउँछ भने त्योमाथि निर्ममरुपमा कारवाही हुन्छ,’उनले भने,'देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि म प्रतिवद्ध छुँ । कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नेछुँ ।' उनले नागरिकमैत्री व्यवहार गर्न पनि सबै प्रहरीलाई आग्रह गरे ।