धरान: जेठ ४ गते जिल्ला अस्पताल धनकुटामा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि जिल्लामा त्रास बढ्यो । उनीसँग उपचार गराएका विरामी, कन्ट्याकमा आएका व्यक्ति र सहकर्मीसहित पुनः पिसिआर चेक गर्दा थप आधादर्जन व्यक्तिमा कोरोना पोजेटिभ आएपछि प्रशासनले जिल्लामा पहिलो पटक सिल गरेर लकडाउन थप कडा पारेको थियो ।
संक्रमितहरु निको भएर डिस्चार्ज भएपछि थप संक्रमितहरु भेटिएका थिएनन् । त्यसपछि सरकारले धनकुटालाई कोरोनामुक्त जिल्लाको सुचिमा राखेको थियो । तर, पुनः ३ व्यक्तिमा कोरोना देखिएपछि स्थानीय थप सतर्क बनेका छन् भने पालिकाहरुले आफ्नो क्षेत्रभित्र विदेशबाट आउने नागरिकको कन्ट्याक टे«सिङलाई कसिलो बनाएको जानकारी दिएका छन् ।आज मात्र बहराइन, साउदी र कतारबाट आएका नागरिकमा कोरोना पोजेटिभ आएको पुष्टि भएको छ । उनीहरु पालिकाको क्वारेन्टिनमा बसेका थिए । उनीहरुको स्वाब शुक्रवार संकलन गरि विपी प्रतिष्ठान धरानको ल्याब पुयाृइएको थियो ।
संक्रमितहरु मध्ये छथर जोरपाटी गाउँपालिकाका ३८ र ३९ वर्षीया पुरुष बहराइन र साउदीबाट आएका हुन् भने अर्का एक २८ वर्षीया सहिदभुमीका पुरुष कतारबाट आएका हुन् । जोरपाटीमा गत शुक्रवार २५ जनाको स्वाव संकलन गरिएकोमा २ जनामा पोजेटेभि भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाइले जानकारी दिएका छन् । त्यस्तै सोहि दिन सहिदभुमी गाउँपािलकामा ७ व्यक्तिमा कोरोना टेस्टका लागि स्वाव संकलन गरिएको थियो ।
दुवै पालिकामा विदेशबाट आएका व्यक्तिलाई राखिएको क्वारिन्टाइनमा राखिएको छ । उनीहरुको नियसमित स्वास्थ्य परिक्षण गर्ने गरिएको छ । गुरागाईका अनुसार संक्रमित तीनै जनालाई प्रदेश १ सरकारले बनाएको मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेटेड अस्पतालमा उपचारका लागि पठाइएको छ ।