विराटनगर: प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ ।

पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टिनमा मात्र देखिएको छ । समुदायमा संक्रमण देखिएको छैन तर नमूनाका रुपमा समुदायस्तरमा पनि परीक्षण गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले भने,‘क्वारेन्टिनमा मात्र हैन, समुदायमा पनि नमूनाका रुपमा परीक्षण गर्न आवश्यक देखियो ।’ कोरोना उपचार केन्द्र र क्वारेन्टिनबाट डिस्चार्ज भएकाहरुको परिवार र आसपासका स्थानहरुको छनौट गरेर नमूनाका रुपमा परीक्षण गर्ने मन्त्री घिमिरेले बताए । पहिलो चरणमा सुरक्षाकर्मीको परीक्षण गरिएको उनले बताए ।

कोरोना संक्रमणको नियन्त्रण तथा उपचारका लागि अग्रभागमा रहेर काम गरिरहेका तीनै वटै सुरक्षा निकायका १ हजार ५ सयको परीक्षण गरिएको मन्त्री घिमिरेले बताए । सुरक्षाकर्मीको परीक्षणमा कसैलाई पनि संक्रमण नदेखिएको उनले बताए । सुरक्षाकर्मी पछि स्वास्थ्यकर्मीको परीक्षणको तयारी शुरु गरिएको मन्त्री घिमिरले बताए । उनले भने,‘निजी अस्पताल सञ्चालकहरुको संगठन अफिनसँगको सहकार्यमा स्वास्थ्यकर्मीको परीक्षण गरिने छ ।’ स्वास्थ्यकर्मीको परीक्षण पछि समुदाय स्तरमा परीक्षण गरिने मन्त्री घिमिरेले बताए ।

परीक्षणको दायरा बढाउनका लागि माग बढिरहेकाले समदुाय स्तरमा पनि परीक्षण गर्न लागिएको उनको भनाई छ । मन्त्री घिमिरेले भने,‘क्वारेन्टाईनमा रहेका, कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरुको नेगेटिभ रिपोर्ट नआउँदा सम्म परीक्षण गर्ने काम भईरहेको छ ।’ प्रदेश १ मा कोरोना संक्रमण भन्दा कोरोना मुक्त भएर घर फर्कनेको संख्या बढ्दोक्रममा रहेको मन्त्री घिमिरेले बताए । ‘प्रदेश १ को अवस्था भयावह छैन,’उनले भने । भारत लगायतका तेश्रो मुलकबाट आउनेहरुमा मात्र संक्रमण देखिएको मन्त्री घिमिरेले बताए ।