धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय पुरुष हुन् । उनको हिजो राती करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । ईलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले वीपीमा उपचार सप्तरीका व्यक्तिको मृत्यु भएको पुष्टि गरे । ‘एक जनाको मृत्यु भएको हो, शवलाई के गर्ने भनेर आर्मीसँग समन्वय भइरहेको छ,’कार्की क्लिकधरानसँग भने ।

मृतक प्रदेश २ को भएपनि प्रदेश १ मा उपचारको क्रममा मृत्यु भएको पहिलो व्यक्ति हुन् । त्यसैले संक्रमितको शव व्यवस्थापन कहाँ र कसरी गर्ने भनेर निर्णय लिन केही समय लाग्ने कार्कीले बताए । ‘शव व्यवस्थापनबारे सिडिओ साबसँग समन्वय भइरहेको छ । प्रदेश १ मा पहिलो मृत्यु भएकेले पनि केही समय लाग्छ,’उनले भने ।