धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक विद्यार्थीलाई कोरानो पोजेटिभ पुष्टि भएको छ ।
एमबिबिएस पाँचौं बर्षको प्राक्टिकल परीक्षा दिन भारतबाट आएकी एक छात्रालाई कोरोना संक्रमण पुष्टि भएको हो । परीक्षा दिन बोलाए पछि प्रतिष्ठानले विद्यार्थीलाई होस्टलभित्र कडाँईका साथ क्वारेन्टाइनमा राखेको होस्टल वार्डेन डा.इन्द्र लिम्बुले जानकारी दिए । उनको रिपोर्ट पोजेटिभ आएपछि छात्रालाई आइसोलेसनमा स्थानान्तरण गरिसकेको उनले बताए ।
फाइनल प्राक्टिकल परीक्षाको लागि प्रतिष्ठानले विद्यार्थीहरु बोलाएको थियो । भारतीय विद्यार्थीहरु पनि आएका थिए । त्यसक्रममा करिब डेढ सय विद्यार्थीहरु प्रतिष्ठान आएका छन् भने ३६ जना महिला(छात्रा) विद्यार्थीहरु आएका छन् । छात्रा ३६ जनाको कोरोना परीक्षा गर्दा एक जनामा मात्र पोजेटिभ आएको हो । ‘३५ जनाको नेगेटिभ आयो, एक जना मात्र पोजेटिभ आयो,’डा.लिम्बुले भने,‘नेगेटिभ आएकालाई पनि थप एक साता क्वारेन्टाइनमा राखेर पिसिआर गरेपछि मात्र खुला गछौं ।’
प्रतिष्ठानकै केहीले भने आएका विद्यार्थीहरु कडाईका साथ क्वारेन्टाइनमा नबसेको र घुम्न, खाजा खान पनि बाहिर निस्केको जानकारी दिएका छन् । होस्टल प्रशासनले उनीहरुलाई कडाई नगरेर जोखिम बनाएको उनीहरुको दाबी छ । तर, होस्टल वार्डेनसमेत रहेका डा.लिम्बुले भने विद्यार्थीहरु कतै घुम्न ननिस्केको दाबी गरे । ‘यहाँ आएदेखि नै कडाईको साथ गेट सिल गरेका थियौं, बाहिर कतै घुम्न निस्केको छैन,’उनले भने ।