धरान: सरकारले आज(मंगलबार) मध्यराती १२ बजे पछि लकडाउन अन्त्य भएको जनाएको छ ।

मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं अर्थ, सुचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले यस्तो बताएका हुन् । उनले आज राती १२ बजेबाट लकडाउन जारी छ भन्ने अवस्था नरहने बताए । 'अब लकडाउन जारी छ भन्न पर्ने छैन, त्यसको अन्त्य भएको छ,'डा.खतिवडाले भने ।

नेपालमा गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । लकडाउन नभए पनि स्वास्थ्य सुरक्षाको जोखिम एवं संक्रमणको जोखिम कायमै रहेकोले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपाउनुपर्ने उनले प्रष्ट पारे । सामाजिक दुरी कायम राख्न र स्यानिटाइज प्रयो गर्न भने उनले सबैलाई आग्रह गरे ।

सरकारले अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ । तर, साउन १५ गतेदेखि होटल, रेष्टुरेष्ट खोल्न दिने निर्णय गरिसकेको छ भने भदौ १ गतेबाट लामो दुरीको सवारीसाधन र हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै, भदौ १ गतेदेखि भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा लिन पाउने पनि निर्णय गरेको छ भने अन्तर्रािष्ट्रय खेलकुदका प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरु पनि भदौ १ गतेबाट सुचारु गर्न सकिने निर्णय गरेको छ ।

के के बन्द रहन्छन् ?

सरकारले भदौ १ गतेदेखि भर्ना र परीक्षा जस्ता शैक्षिक कार्यक्रम गर्न दिने निर्णय गरेपनि शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु भने अर्को निर्णय नभएसम्मलाई बन्द रहने निर्णय गरेको छ । यस्तै, विभिन्न किसिमका तालिम, गोष्ठी, सेमिनारहरु, सिनेमा हल, मनोरञ्जनस्थल, जिमखाना, स्वीमिंगपुल, धार्मिकस्थजलहरु पनि बन्द नै रहने निर्णय गरेको छ । यसैगरि, पुस्तकालय, संग्रहालय, भेला तथा प्रर्दशन, डान्सबार, सेलुन, स्पा, ब्युटीपार्लर, समुहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतीहरु, पार्टी प्यालेज पनि बन्द रहने निर्णय गरेको छ ।