धरान: सप्तकोशी नदीले सुनसरीको बराहक्षेत्र नगरपालिका ६ स्थित पुर्वीतटबन्धतर्फ कटान गरेको छ । कटान गरेपनि अहिले खतरामुक्त भएको नगरपालिकाले जनाएको छ ।
बराहक्षेत्रका नगर प्रमुख निलम खनालका अनुसार वडा नं ६ स्थित ठाकुरबारी मास्तिर स्पर नम्बर ९ र १० को बीचबाट कोशी बाँधतिर धकेलिएर कटान शुरु गरेको थियो । यस्तै, स्पर नम्बर १० को नोज(चुच्चो) तार पनि काटिएर लडेको छ । तर, अहिले त्यसक्षेत्र खतराबाट मुक्त रहेको मेयर खनालले बताए । 'ठाकुरबारी माथि १० नम्बर स्परको नोज काटेको छ, र स्पर ९ र १० को बीचबाट बाँधतिर पानी धकेलिएर कटान शुरु गर्यो,'मेयर खनालले भने,'स्परको चुच्चोको तार काटिएर लड्यो । अरु स्थिति सामान्य छ । बाढी पनि नियन्त्रणमा आएको छ ।'
मेयर खनालका अनुसार सेना, सशस्त्र र प्रहरीसँगै स्थानीयको टोलीले कटान क्षेत्रमा रोकथामको लागि जुटेका छन् । भारतीय ईञ्जिनियरको टोली पनि त्यसक्षेत्रमा खटिएका छन् । कोशीमा पानीको वहाव कम भएपछि झन् कटान गरेको मेयर खनालले बताए । 'सबै लागिपरेर अहिले कटान रोकथाम हुदैछ । खतरा छैन,'उनले भने । २०६५ भदौ २ गते कोशीले पुर्वी तटबन्ध भत्काएर मानव वस्तीमा ठुलो धनजनको क्षति गरेको थियो । त्यसबेला ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए ।