झापा: झापाको भद्रपुर नगरपालिका २ का ३ जना बालक नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।
बुधवार दिउँसो २ बजेको समयमा घरबाट खेल्न निस्किएका अनिल तामाङका १० बर्षीय छोरा अंकुश तामाङ, कमला थामीका छोराहरु १४ बर्षीय करण थामी र १२ बर्षीय अर्जुन थामी नयाँ सिमसार क्षेत्रमा मृत फेला परेका हुन् । खेल्न भनेर गएका तिनै जना बालक बेलुकासम्म फर्केर नआएपछि खोजी गर्ने क्रममा अंकुश तामाङ राती ८ बजे सोही सिमसार क्षेत्रमा मृत फेला परेका थिए । अन्य २ जना बालक फेला नपरेपछि आफन्तले प्रहरीमा खबर गरेको थियो ।
प्रहरीले घटनास्थलमा गएर अंकुशको शव परिक्षणको लागी भद्रपुर अस्पताल पठाएको थियो भने अन्य २ जनाको पनि खोजी शुरु गरेको थियो । हराई रहेका अन्य २ जना बालकलाई १ नम्बर प्रदेश विपत व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको गोताखोरसहितको टोलीले आज बिहान ९ बजे सोही सिमसार क्षेत्रको पानी मुनी मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।