धरान: डिभिजन वन कार्यालय सुनसरीका डिभिजन प्रमुख (डिएफओ) र उनकी पत्नी घुस लिएको रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीबाट खटिएको टोलीले डिएफओ रामबाबु साह र उनकी पत्नी किरण साहलाई घुसको रकमसहित पक्राउ गरेको हो । दुवैलाई स्रोत नखुलेको ५ लाख ५३ हजार रुपैयासहित रौतहटतर्फ जादै गरेको अवस्थमा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
डिएफओ साहले घुस वापतको अवैध रकम लिएर रौतहटतर्फ जादै गरेको सुचना अख्तियारमा पुगेको थियो । सोही आधारमा अख्तियारको टोलीले दुवैलाई बा.२ झ. ४१० नम्बरको कार्यालयको गाडीमा रकम लुकाएर राखेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।उनीहरुलाई कोशी गाउँपालिका वडा नं ८ बाट रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।