धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बालरोग बिशेषज्ञ हुन्, डा.अरुण कुमार सिंह । उनी जति बेला पनि विरामीलाई सहजै भेटेर उपचार सेवा दिनसक्ने डाक्टरकोरुपमा परिचित छन् ।

उनी उपचार सेवामा मात्र होइन, सामाजिक गतिविधि र समाजलाई सचेत गराउने क्षेत्रमा पनि क्रियासिल छन् । यसैको उदाहरण्कोरुपमा लिनसकिन्छ, आज विमोचन गरिएको पुस्तक ‘बालबालिकाको डाक्टर साथी’ । यो पुस्तकका लेखक डा.सिंह हुन् । सम्पादन पत्रकार देवेन्द्र कार्कीले गरेका छन् । यही पुस्तकको मंगलबार एक समारोहबीच प्रमुख अतिथि एवं प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी, भाषाविद् प्रा.डा.टंक न्यौपाने, प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह, नर्सिङ विभागका प्रमुख प्राध्यापक उपेन्द्र यादव, लेखक डा.सिंह, सम्पादक कार्कीले सयुक्तरुपमा विमोचन गरेका थियो ।

पुस्तकमा बालबालिकामा लाग्ने रोगहरु र उपचारबारे सम्पुर्ण जानकारी दिइएको छ । स्वास्थ्य क्षेत्रका मानिसलाई मात्र होइन, आम मानिसको लागि पनि यो पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ । ग्रामीण क्षेत्रका स्वास्थ स्वयंसेबिकाहरुले पनि पढ्न र अरुलाई बुझाउन सकुन् भन्ने उद्देश्यले सरल भाषामा प्रस्तुत गरिएको लेखक डा. सिंहले जानकारी दिए । यो पुस्तकले हजारौंलाई उपचारमा सहयोग पुग्ने पनि उनले बताए । ‘चिकित्सक सेवा नपुगेका दुर्गम ठाउँका बालबलिकाहरुलाई रोगबारे जानकारी दिने र कुन समयमा अस्पताल लैजाने भन्ने जानकारी छ,’लेखक सिंहले भने,‘बालबालिकाहरुलाई स्वास्थ्य सचेतना बारे विभिन्न रोगहरुको बिषयलाइ समेटिएको छ ।’

dr-arun

पुस्तकमा नवजात शिशुको हेरबिचारदेखि राष्ट्रिय खोप तालिका, बच्चाहरुको उचित ख्याल, विभिन्न रोगहरुको बिषयमा घरमै बसेर पनि गर्न सकिने उपचार विधिबारे जानकारी दिइएको छ । पुस्तकका स्वास्थ्य सम्बन्धि जनहितका सन्देश, प्राकृतिक विपत्तिबाट बच्ने सन्देशहरुसमेत समेटिएको पुस्तकका सम्पादक कार्कीले जानकारी दिए । आमचोक सरोकार समाज सुनसरीका सचिवसमेत रहेका कार्कीले पुस्तक बिक्रीबाट आएको रकमले वीपीमा उपचारको लागि आउने दुर्गम क्षेत्रका विपन्न परिवारका बालबालिकाहरुको उपचारमा सहयोग गर्ने गरि संस्थाले ५० हजारको कोष समेत स्थापना गरेको बताए ।

उपकुलपति डा.गिरीले पुस्तकले स्वस्थ्यका बिभिन्न आयामलाई सरल, सहज र सरस ढङ्गले आम मानिसमा बुझाउने बताए । महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक गोपिकृष्ण खतिवडाले पुस्तकको उपयोगिताबारे प्रकाश पारेका थिए । उनले वीपीबाट प्रसुती सेवा लिएर जाने हरेक आमाहरुलाई यो पुस्तक कोशेलीकोरुपमा बितरण गर्न सुझाव दिए । कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्ले, अस्पताल निर्देशक प्राडा साहलगायतले शुभकामना मन्तव्य दिएका थिए । किस्तीका चौधरीले डिजाइन गरेको पुस्तक प्रकाशनमा लक्ष्मी बाँनियाले व्यवस्थापन गरेका छन् ।