धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि कोरोना संक्रमितको गम्भीर विरामीमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने अनुमति दिएको छ ।
प्रतिष्ठानसहित १२ वटा अस्पताललाई यस्तो अनुमति दिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप कुमार ज्ञवालीले १२ वटा अस्पताललाई उक्त विधिबाट संक्रमितको उपचार गर्न स्वीकृतिको जानकारी दिएको समाचार सेतोपाटीले प्रकाशन गरेको छ । वीपी प्रतिष्ठानबाहेक अनुमति पाउने सरकारी अस्पतालहरूमा धुलिखेल, टिचिङ, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज, कोसी, नारायणी, भक्तपुर, भेरी र सेती अस्पताल छन्। अनुमति पाउने निजी अस्पतालहरूमा मेडिसिटी, ग्रान्डी र ह्याम्स अस्पताल छन्। यी अस्पतालहरूले कोरोना संक्रमणको गम्भीर बिरामीलाई प्लाज्मा दिएर उपचार गर्न सक्छन् ।
काठमाण्डौंको शिक्षण अस्पतालमा विराटनगरको विराट नर्सिङ होमका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान कार्कीको बिहिबार प्लाज्मा थेरापीबाट पहिलो पटक उपचार गरिएको थियो । उनमा उल्लेख्य सुधार भएपछि सरकारले अन्य अस्पतालमा पनि स्वीकृति दिएको हो । प्लाज्मा थेरापी उपचार विधिको लागि केन्द्रीयस्तरमा गठन भएको समितिका सदस्यसमेत रहेका प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्मा यो उपचार विधि वीपीमा सम्भव हुने बताउँछन् ।
‘यो गर्न सम्भव छ । एन्टिबडी दिने मान्छे चाहिन्छ,’डा.शर्मा भन्छन्,‘रक्तदान गरेजस्तै हो । रगतमा भएको तरल पदार्थ प्लाज्मा र कोषिका छुट्याएर संक्रमितलाई तरल दिने हो । तर विरामी गम्भीर विरामी हुनुपर्छ, र अरु उपचारबाट सम्भव छैन भन्ने हुनुपर्छ ।’ उनका अनुसार यो उपचार विधिमा खर्च धेरै लाग्दैन । कोरोनाका विरामीको उपचार सरकारले नै व्यहोर्नेछ भने एन्टिबडि रक्तदानबाट नै उपलब्ध हुने उनले बताए ।
कोरोना संक्रमण भएको व्यक्तिको निश्चित समयवधिमा शरीरमा एन्टिबडी उत्पादन हुन शुरु गर्छ । त्यो एन्डिबडीले भाइरससँग लड्ने काम गर्छ, र भाइरसबाट हुने आक्रमणको प्रतिरक्षा गर्छ । निको भएका व्यक्तिको एन्टिबडीबाटै बनेको प्लाज्मा कोरोना संक्रमणका गम्भीर बिरामीको उपचारमा प्रयोग गरिन्छ । डा.शर्मा भन्छन्,‘जुन व्यक्तिबाट एन्टिबडी लिने हो, उसमा छ कि छैन, छ भने पनि कुन मात्रामा छ, भनेर हेर्नुपर्छ ।’
यस्तो छ मापदण्ड
हालसम्म २ दर्जन बढीले प्लाज्मा दान गर्न चाहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । प्लाज्मा दान गर्ने व्यक्तिले रक्तदान गर्नुपूर्व कम्तिमा १४ दिन अगाडि उनमा संक्रमणको कुनै लक्षण देखिएको हुनु हुदैन । साथै दाताको संक्रमण पुष्टि आरटी पिसिआर विधिबाटै भएको हुनुपर्ने हुन्छ भने दाता र प्लाज्मा लिने व्यक्तिको रगत समूह पनि मिलेको हुनुपर्छ। प्लाज्मा थेरापीबाट उपचार गर्न लागिएको बिरामी १८ वर्ष माथिको हुनुपर्छ। साथै संक्रमित अस्पताल भर्ना भई उपचार भएको र अवस्था पनि गम्भीर हुनुपर्छ। संक्रमित बिरामीले आफूलाई उक्त विधिबाट उपचार गर्न भनेमात्र अस्पतालहरूले निजको उपचारमा यो विधि प्रयोग गर्न पाउँछन्।