विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका मध्ये सबैभन्दा धेरै मोरङ जिल्लामा छन् । मोरङमा मात्र १४ जना संक्रमित थपिएका छन् भने इलाममा २ जना, उदयपुर र सुनसरीमा १–१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ पुरुष र ४ महिला, सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ भने उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।
९० बर्षकी वृद्धासहित ५७ जना डिस्चार्ज
यसैगरि, प्रदेश १ मा ९० वर्षीया बृद्धासहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास लगायतले विदाई गरेका थिए ।
आज डिस्चार्ज हुनेमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र तेह्रथुमका १–१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ । यस्तै, प्रदेश १ मा आज ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५ महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सनराईज