धरान: वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा हिजो राती कोरोना पोजेटिभ रिपोर्ट आएका डाक्टरले त्यहाँ स्वास्थ्यकर्मी तथा सर्वसाधारण विरामीको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ ।

इएनटि विभागका ती डाक्टरलाई ज्वरो आएपछि कोरोनाको आशंका गरेर स्वाब दिएपछि सेल्फ क्वारेन्टिनमा नबसी सबैसँग भेटाघाट गरेको र डुलेको पाइएको छ । साथै, स्वाब दिएपछि पनि उनी अप्रेसन थिएटरमा गएको खुलेको छ । जसले गर्दा मेन अप्रेसन थिएटर सिल गरिएको छ । यसले अप्रेशनको मिति तय भइसकेको विरामीहरुको अप्रेशन रोकिदा सास्ती भोग्नु परेको छ । तिनै मध्ये एक हुन्, धरान १६ की १५ बर्षीय बालिका । जसको यही बुधबार ओपन हर्ट सजरी गर्नुपर्ने थियो । तर, डाक्टरले अप्रेशन रद्द भएको जानकारी मात्र दिएन, काठमाण्डौं गंगालाल हृदयरोग केन्द्र लैजान भनिसकेको छ ।

ती बालिकलाई सहयोग गरिरहेका सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विष्णु वराल डाक्टरले चरम लापरवाही गरेको बताउँछन् । ‘डाक्टरबाट नै यस्तो चरम लापरवाही भएछ, ओटि रुम सिल भयो, तपाईको विरामी काठमाण्डौं लैजानु भनेर फोन आएछ,’उनले भने,‘हाम्रो जस्तै कतिले दुःख पाउने भयो । खर्च पनि धेरै हुने भयो ।’

प्रतिष्ठानका चिकित्सकहरुका अनुसार कोरोना पोजेटिभ देखिएका इएनटि र बायोकेमेष्ट्री विभागका दुवै डाक्टर स्वाब दिएपछि क्वारेन्टिनमा बसेका थिएनन् । जबकी डाक्टरलाई लक्षण देखिएको थियो । इएनटिका ती डाक्टर त कोरोनाको हटस्पट जनकपुरबाट आएका थिए । त्यसैले ज्वरो नआए पनि वा लक्षण नदेखिए पनि उनी आफै क्वारेन्टिनमा बस्नुपर्ने थियो । ‘डाक्टर जस्तो मान्छेले आफै बुझ्नु पर्ने हो, तर असाध्यै ठुलो खेलवाड गरेको देखियो,’एक चिकित्सकले भने,‘त्यो लापरवाहीले गर्दा कति डाक्टर, नर्स र विरामीहरुलाई समस्या भइरहेको छ ।’

ती डाक्टर इएनटि विभागको एउटा चियापन कार्यक्रम पनि सहभागी भएका थिए । त्यो विभागका लगभग सबै डाक्टरहरुको स्वाब संकलन गर्नुपर्ने भएको छ भने उनीहरु रिपोर्ट नआएसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएको छ । यस्तै, एक आफन्तलाई विरामी जचाउन उनी डेन्टल कलेज पनि पुगेको पाइएकोछ । त्यहाँको पनि ओरल सर्जरी एक दिनको लागि डिस्इन्फेक्सन गर्न बन्द भएको छ । उपचारमा संलग्नहरु क्वारेन्टिनमा गएका छन् ।

यस्तै, शल्यक्रिया कक्षमा पनि उनी प्रवेश गरे आवश्यक निर्देशन दिएको खुलेपछि करिब ३० जना हाराहारीमा नर्स, डाक्टर र टेक्निसियनहरुको पनि स्वाब लिएर सेल्फ क्वारेन्टिनमा बसाउनुपर्ने स्थिति बनेको र्यापिड रेस्पोन्स टिमका सदस्यसमेत रहेका कन्ट्याक ट्रेसिङका संयोजक डा.विजय खनालले बताए । ‘लगभग ६०, ७० जनाको ट्रेसिङ हुन्छ जस्तो छ,’उनले भने,‘उहाँहरु आफैले स्वाब दिएर नियम पालना गरिदिएको भए यस्तो हुदैनथ्यो, उहाँहरुको लापरवाहीले गर्दा धेरैलाई जोखिम पार्यो ।’

संक्रमति डाक्टरहरु बेड खाली नभएकोले अस्पतालको आइसोलेनमा लगिएको छैन । घरमा पनि उनीहरु आफै आइसोलेसनमा बस्नुपर्ने तर नियम पालना नगरेपछि उनीहरुको क्वारर्टर आसपासका डाक्टरहरु त्रसित अवस्थामा बसेका छन् । उनीहरुलाई अस्पताल प्रशासनकोतर्फबाट प्रोटोकल कडाईका साथ पालना गर्न सचेत गराइएको एक चिकित्सकले बताए । ‘त्यसरी लापरवाही नगर्न भनेर सम्झाएको छ, घरमा आइसोलेट भएर बस्नु भनेको छ,’ती चिकित्सकले भने ।

घरेलु कामदारलाई पनि संक्रमणको जोखिममा

कोरोना संक्रमित दुवै डाक्टरको क्वार्टरमा धरानका घरेलु कामदार काम गर्छन् । ती डाक्टर संक्रमण हुँदा उनकोमा काम गर्ने कामदार महिलाहरु पनि संक्रमणको उच्च जोखिममा छन् । कन्ट्याक ट्रेसिङको जिम्मेवारी पाएका डाक्टर विजय खनाल भन्छन्,‘ती कामदारको पनि कन्ट्याक ट्रेसिङ गरेर धरान उपमहानगरपालिकालाई स्वाब लिन भनिसको छुँ । उनीहरु संक्रमित भयो भने त समुदायमा नै थप फैलिने जोखिम छ ।’