धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सय बेडको लेभल ३ कोभिड १९ अस्पतालमा लक्षणयुक्त कोरोना संक्रमित व्यक्ति राख्न शुरु गरेको जनाएको छ ।

लेभल ३ कोभिड १९ अस्पताल तयार गरेर संक्रमित व्यक्तिहरुको लागि थप व्यवस्था मिलाएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार कोभिड अस्पताल शुरु भएको नभै क्षमता विस्तार गरिएको हो । ‘वीपीले कोभिड अस्पताल त जेठ ८ गतेदेखि नै संक्रमित व्यक्तिहरु राख्न थालेर शुरु गरेको हो, हामीले क्रमशः क्षमता बढाउदै लग्यौं,’प्रवक्ता डा.सापकोटाले भने,‘अहिले लेभल थ्री अस्पतालको दायरा बढाएको हो ।’

covid-11

प्रवक्ता डा.सापकोटाका अनुसार विस्तार गरिएको लेभल ३ अस्पतालमा गम्भीर प्रकृतिका लक्षणयुक्त विरामीहरुलाई उपचार सेवा प्रदान गरिनेछ । त्यहाँ डाइलाइसिस गर्नुपर्ने संक्रमितहरुलाई पनि सेवा दिइनेछ भने भेन्टिलेटरसहित आइसियु चाहिने संक्रमित, प्रसुती सेवा चाहिने संक्रमित, अप्रेशन गर्नुपर्ने संक्रमितहरुलाई पनि सेवा उपलब्ध हुनेछ । ‘लेभल थ्री कै डाइलाइसिस सेवा, भेन्टिलेटर सेवा पनि दिइरहेकै हो, त्यसैले कोभिड अस्पताल त जेठ ८ गतेदेखि नै सञ्चालनमा आएको हो नि । बुझाईमा मात्र फरक परेको हो,’उनले भने,‘अहिले अस्पतालको दायरालाई अझ फराकिलो बनाइएको हो ।’

covid-14

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहले कोरोना संक्रमितलाई पेइङ वार्डमा सामान्य अवस्थाबाट नै शुरु गरेर पछि सेवा थप्दै गएको स्मरण गर्दै अहिले तयार भएको लेभल थ्री अस्पताल नेपालमा भएका अन्य कोरोना अस्पतालभन्दा कम नभएको दाबी गरे । ‘नेपालमा भएको अन्य कोरोना अस्पतालभन्दा कुनै हालतमा पनि यो कम छैन,’डा.साहले भने,‘योभन्दा अघि पेइङमा शुरु गर्दा पनि सामान्य अवस्था नै थियो, पछि थप्दै गएको हो । डाइलाइसिस पनि हुन्छ । पछि धर्मशालामा पनि आइसोलेसन वार्ड विस्तार गर्यौं । यहाँ पनि केही अपुग भए थप गछौं ।’ उनले पेइङ वार्डमा भएको आइसोलेसन भन्दा धेरै राम्रो स्तरको तयारी भएको बताए ।

प्रतिष्ठानले बुधबार साँझसम्म १०२ जना भर्ना भएर उपचाररत रहेको जनाएको छ भने ३१५ जना डिस्चार्ज भइसकेको जनाएको छ । प्रतिष्ठानले पेइङ वार्डमा लक्षणयुक्त संक्रमितको लागि १८ बेड छुट्याएर आइसोलेसन १ बनाएको छ भने लक्षण नभएका संक्रमितहरुको लागि धर्मशालामा आइसोलेसन २ बनाएको छ । त्यहाँ ८५ जना सम्मलाई पनि राखिएको प्रवक्ता डा.सापकोटाको भनाई छ ।

covid-16

गत बैशाखमा नै उद्घाटन गरिएको सय बेडको कोभिड अस्पताल सञ्चालन नभएको भन्दै पछिल्लो समय प्रतिष्ठान नेतृत्वको चौतर्फी आलोचना भइरहेको थियो । नेपाली कांग्रेसको भातृ संगठनहरुले यही बिषयलाई उठाएर आन्दोलन पनि गर्दै आएको छ । प्रतिष्ठानले भने लकडाउनको कारण आवश्यक सामग्रीहरु नपाउदा केही समय लागेको बताउदै आएको थियो ।

covid-15

covid-12 covid13 covid-17 covid-20 covid-19 covid-21