धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने भएको छ ।
आज(शुक्रबार) काठमाण्डौंमा सम्पन्न भएको ४४ औं सिनेट बैठकले प्रतिष्ठानमा नै मानव अंग प्रत्यारोपण केन्द्र बनाउने निर्णय गरेको हो । प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीका अनुसार यो केन्द्र स्थापना भएपछि मृगौला, कलेजो, प्यांक्रियाज, हड्डीलगायत मानव अंगहरु प्रत्यारोपण गरिनेछ, र आम सर्वसाधारणहरुले उपचार सेवामा राहत पाउनेछन् ।
यस्तै, प्रतिष्ठानको अर्थोपेडिक विभाग अन्तर्गत रहने गरि ट्रमा सेन्टर बनाउने पनि बैठकले निर्णय गरेको छ । यसअघि सुन्दर हरैचामा रहेको वीपीको जग्गामा मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउने प्रस्ताव लगिएको हल्ला चलेको थियो । तर, रजिष्ट्रार डा.रेग्मीले उक्त हल्ला भ्रामक भएको दाबी गरे । ‘हामीले प्रतिष्ठानको अर्थोपेडिक विभाग अन्र्तगत रहने गरि ट्रमा सेन्टर बनाउने निर्णय गरेका छौं, बाहिरको हल्ला भ्रामक हो । यो ट्रमा सेन्टर वीपीमा नै रहन्छ,’रजिष्ट्रार डा.रेग्मीले भने ।
यसैगरि, बैठकले प्रतिष्ठानको चलअचल सम्पत्ति(जग्गा)मा स्वास्थ्य सेवा विस्तार गर्न स्थानीय एवं सरोकारवालाहरुसँग छलफल गरी सम्भाव्यता अध्ययन गर्न समिति बनाउने निर्णय पनि गरेको छ । समिति बनाउने अधिकार कार्यसमितिलाई दिएको र कार्यसमितिले सम्भाव्यता अध्ययन गर्ने एक समिति गठन गर्ने पनि डा.रेग्मीले जानकारी दिए । ‘जग्गा बेच्न लागे भन्ने सब भ्रामक हल्ला हो, हामीले चलअचल सम्पत्तिमा स्थानीय सरोकारवालाहरुसँग छलफल गरेर स्वास्थ्य सेवा विस्तार गर्ने गरि एक समिति बनाउने निर्णय गरेका छौं, त्यो समिति कार्यसमितिले गठन गर्नेछ, र सम्भाव्यता अध्ययन गर्छ,’रजिष्ट्रार डा.रेग्मीले भने,‘हामीले कुनै विवादास्पद निर्णय गरेका छैनौं, सजग नै छौं ।’
बैठकले प्रतिष्ठानलाई पुर्णविश्वविद्यालय बनाउनको लागि एक कार्यदल पनि गठन गरेको छ । विश्वविद्यालय बनाउने निर्णय विगतको सिनेट बैठकबाट नै भइसकेकोले अब विभिन्न पक्षबारे अध्यय गरेर प्रतिवेदन पेश गर्ने गरि ९ सदस्यीय समिति गठन गरिएको रजिष्ट्रार डा.रेग्मीले जानकारी दिए । यो समितिको संयोजकमा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी छन् भने सदस्य सचिवमा रजिष्ट्रार डा.रेग्मी छन् । मेडिकल शिक्षाका विज्ञहरु पनि रहने यो समितिले ४ महिनामा अध्ययन गरि प्रतिवेदन दिनेछ । यसैगरि, सिनेट बैठकले प्रतिष्ठानको चालु आथिक बर्षको बजेट पनि पास गरेको छ ।