धरान: धरान ८ तीनकुनेस्थित औद्योगिक क्षेत्रको प्रिति भल्भ उद्योगका सबै कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

धरानमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलाउन मुख्य भुमिका रहेको भनिएको यो उद्योगका ४९ जना कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । ती सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनले भने,‘प्रिति भल्भको ४९ जना कर्मचारीको स्वाबको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ, यो खुशीको कुरा हो ।’

साउन दोस्रो साता प्रिति भल्भका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ट्राभल हिष्ट्री नभएका ती युवा कर्मचारीमा सोही उद्योगका बजार प्रतिनिधिबाट संक्रमण भएको अनुमान गरिएको छ । ती बजार प्रतिनिधिहरु विराटनगर, जनकपुरलगायत कोरोना हटस्पट क्षेत्रमा आउजाउ गरिरहेका थिए । उद्योगले उनीहरुलाई क्वारेन्टिनमा नराख्ने र स्वास्थ्य सुरक्षा पनि नअपनाएको कारण अन्य कर्मचारीमा भाइरस सरेको अनुमान छ ।

preeti-swab

प्रिति भल्भमा स्वाब संकलन गर्दै स्वास्थ्यको टोली ।

कन्ट्याक ट्रेसिङको आधारमा थप स्वाब परीक्षण गर्दा उद्योगकै मालिकका छोरामा पनि संक्रमण पुष्टि भएको थियो भने धरान १५, धरान १, धरान ८ मा बसोबास गर्ने अन्य कर्मचारीमा पनि संक्रमण पुष्टि भएको थियो । साथै, ती परिवारको क्लोज कन्ट्याकमा भएका धरान ३ का एक परिवारमा पनि संक्रमण पुष्टि भएको थियो । सोही उद्योगबाट नै धरान ८ स्थित क्रञ्च फिटनेसमा पनि संक्रमण पुगेको अनुमान गरिएको छ ।