विराटनगरः स्वाव सँकलन गर्ने स्वास्थ्यकर्मीलाई नै कोरोना पोजेटिभ देखिएपछि बन्द भएको स्वाव संकलन कार्य आजदेखि शुरु भएको छ ।

गत आइतवार कोरोना पुष्टि भएका चिकित्सकसहित विराटनगर महानगरपालिकको स्वास्थ्य टीम सेल्फ क्वारेन्टाइनमा बसेको थिए ।  स्वाब संकलन गरिने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट सुरु भएको छ । पोजेटिभ देखिएका स्वास्थ्यकर्मीबाहेक अरुमा सँक्रमण नरहेको पुष्टिभएपछि पुनः स्वाव संकलनको काम अघि बढाइएको महानगका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनकाअनुसार मेडिकल अधिकृत डा. प्रज्वल खतिवडा नेतृत्वको टिमले मंगलबारदेखि पुनः स्वाब संकलन सुरु गरेको छ । महानगरपालिकाले बनाएको आइसोलेनमा बसेकाहरुको स्वाब पहिलो चरणमा लिने काम भइरहेको छ । १० दिनभन्दा अगाडीदेखि आइसोलेशनमा बसेकाहरुको स्वाब संकलन सुरु गरिएको डा.खतिवडाले जानकारी दिएका छन् । उनले आइसोलेशनमा बसिसकेका व्यक्तिको स्वाव लिएपछि उनीहरुसँग कन्ट्याक ट्रेसिङमा रहेकाहरुको स्वाव लिइने जानकारी दिए ।

विराटनगर महानगरपालिकाभित्र स्वाब संकलन गरिने दुई वटा टिम बनाएको छ । महानगरपालिकाले करारमा नियुक्त गरेको मेडिकल अधिकृतको नेतृत्वमा दुई टिम बनाएको हो । मेडिकल अधिकृत डा.प्रज्वल खतिवडा र डा.मुकेश पौडेलको नेतृत्वमा रहने ६÷६ जनाको टिम परिचालन हुने भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

अब कुनै पनि स्वास्थ्यकर्मीलाई संक्रमण देखिहाले भने पनि स्वाब संकलनको काम नरोकिने महनगरपालिकाले जनाएको छ । दुई दिन स्वाब संकलन नहुँदा कोरोना संक्रमितको सम्पर्कमा रहेका सयौंले परीक्षण गर्न पाएका छैनन् । मंगलबार मात्र विराटनगरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ । सँक्रमित बढ्दे गएको हुँदा धेरै व्यक्तिको स्वाव लिनुपर्ने देखिएको छ । तसर्थ महानगरले स्वाव सँकलनलाई नरोक्ने बताएको हो ।