धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागका नर्सहरु आन्दोलित भएपछि मास्क र पञ्चा आवश्यकता वमोजिम पाउने भएका छन् ।
स्टाफ नर्सहरु आन्दोलित भएपछि बुधबार ४ घण्टा भन्दा बढी समय अस्पताल प्रशासनमा छलफल भएको थियो । कोरोना संक्रमणको आशंका गरिएका विरामीहरुलाई पनि गाइनो वार्डमा राखिएको र संक्रमण भएपछि पनि आफुहरुलाई क्वारेन्टिनमा नराखिएको, पर्याप्त मात्रामा मास्क र पञ्जा नदिएकोले असुरक्षित हुनुपरेको भन्दै नर्सहरु आन्दोलित भएका थिए । गाइनो विभागकी प्रमुख डा.अचला ठाकुर, मेट्रोन उपेन्द्र यादवलगायतले छलफल गरेका थिए । प्रतिष्ठानका पदाधिकारीहरु साउन ३० गतेको सिनेट बैठकमा काठमाण्डौं गएको कारण क्वारेन्टिनमा भएकाले सहभागी थिएनन् ।
छलफलमा सहभागी स्टाफ नर्स मीना खवासका अनुसार आवश्यकता वमोजिम मास्क र पञ्जाउपलब्ध गराउन प्रशासनले प्रतिवद्धता जनाएका छन् भने संक्रमित महिला रहेका वार्डमा कार्यरत नर्सहरुलाई गेष्ट हाउसमा क्वारेन्टिनमा राखिएको छ । तर, गाइनो इर्मजेन्सीमा आउने कोरोनाका शंकास्पद विरामीहरुलाई कहाँ लैजाने भन्ने टुंगो नलागेको उनले बताइन् । ‘मास्क र पञ्चा आवश्यकता वमोजिम दिने भयो, तर इर्मजेन्सीमा आउने शंकास्पद विरामीलाई वार्डमा राख्नु हुन्न, कोभिडमा लैजानुपर्छ भनेको, त्यहाँ सम्भव छैन भन्ने कुरा आयो । यो बिषयमा निष्कर्ष नै भएन,’उनले भनिन् ।
प्रतिष्ठानका मेट्रोन उपेन्द्र यादवले २८ जना स्टाफ नर्सहरुलाई गेष्ट हाउसमा खाना र बस्नको व्यवस्था गरिएको बताए । साथै उनले सबैलाई मास्क आवश्यकता वमोजिम उपलब्ध गराइ रहेको पनि उनले बताए । ‘सबैले नै वीपीले दिएको मास्क नै लगाइराखेको छ, नदिएको भन्ने होइन,’मेट्रोनले भने,‘२८ जना नर्सहरुलाई गेष्ट हाउमा बस्न व्यवस्था गरिएको छ ।’ संक्रमितहरुको क्लोज कन्ट्याकमा रहेकाहरुलाई स्वाब पनि संलकन गरिसकेको उनले बताए । केही दिनअघि प्रतिष्ठानको गाइनो विभागको वार्डमा २ जना महिला कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त वार्डलाई सिल नगरिएको, वार्डमा उपचारमा संलग्न नर्सहरुलाई क्वारेन्टिनमा बस्ने व्यवस्था नगरेको, शंकास्पद विरामीलाई पनि वार्डमा राखिएको भन्दै नर्सहरु चर्को असन्तुष्ट बनेका थिए ।