धरान: केही दिनदेखि विरामी रहेका ७१ बर्षीय वृद्धको हिजो(बुधबार) धरान १५ मा मृत्यु भयो । उनी हिजो मात्र धरान ८ स्थित सिद्धकाली चोकस्थित छोरीज्वाँईको डेराबाट छोरा बुहारीको डेरामा सरेका थिए ।
डेरा सरेको केही समयमा नै वृद्धको निधन भएको थियो । धरान १५ मा डेरा सर्नुअघि वृद्ध बस्दै अएको सिद्धकाली चोकमा यसअघि एकै परिवारमा कोरोना संक्रमण भएको थियो । उनीहरु प्रिति भल्भमा काम गर्ने कर्मचारीको परिवार थिए । वृद्ध केही दिनदेखि विरामी पनि भएकोले कतै कोरोना संक्रमण हो कि भन्ने आशंकाले आफन्तहरुबाट नै उनको स्वाब संकलनको लागि आग्रह गरिएपछि आज स्वाब लिइएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘हिजो डेरा सर्नुभएको रहेछ, केही समयमा अचानक निधन भएछ,’मेहताले भने,‘विरामी पनि भएको र सिद्धकाली चोकमा यसअघि संक्रमण देखिएकोले पनि स्वाब परिक्षण गर्न आग्रह भएकोले आज लिइयो ।’
मृतकका परिवार निकट एवं नेकपा नेता मुक्साहाङ मेन्याङ्बोका अनुसार वृद्ध ४, ५ दिनदेखि विरामी थिए । श्वास फेर्न पनि गाह्रो भइरहेको थियो । साथै, संक्रमण भएको एरियाबाट धरान १५ मा डेरा सरेर आएकोले पनि कोरोना हुनसक्ने अनुमान गरेर स्वाब संकलन गर्न लगाएको उनले बताए ।
रिपोर्ट नआइ अन्त्येष्टी गरियो
मृतक वृद्धको आज स्वाब लिए पछि अन्त्येष्टी पनि गरिएको छ । कोरोना आशंका गरिएकाहरुको मृत्यु भएमा स्वाब परीक्षणको रिपोर्ट नआएसम्म अन्त्येष्टी गर्न दिइदैन । तर, मृतक घरमा नै रहेको अवस्थामा मृत्यु भएको र आफन्तजनको आग्रहमा स्वाब संकलन गरिएको थियो । उनको आजै लांघाली वनमा अन्त्येष्टी भइरहेको नेता मेन्याङ्बोले जानकारी दिए । ‘अन्यन्तै सर्तकता अपनाएर अन्त्येष्टी गर्दैछौं, रिपोर्ट जे जस्तो आउछ, हामी सजग भएर नै बस्छौं,’उनले भने ।