काठमाण्डौ: अवैधरुपमा हतियार ओसारपसार गर्ने गिरोहका २ जनालाई प्रहरीले हतियार र गोलीसहित पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा, काठमाण्डौंको बिषेश टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ घर भई हाल काठमाण्डौं बस्ने २७ बर्षका विकेश पण्डित र नुवाकोटकै लिखु गाउँपालिका १ का २८ बर्षका अमर सिंह तामाङ घले पक्राउ परेका छन् । उनीहरुको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल २ थान, सो पेस्तोलमा प्रयोग हुने गाली १० राउण्ड, म्यागजिन २ थान र २ थान मोवाइल पनि वरामद गरिएको महाशाखाका प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए । उनका अनुसार भदौ ३ गते हातहतियारको ओसार पसार तथा कारोबार हुदैछ भन्ने सुचनाको आधारमा महाशाखाका एसपी होबिन्द्र बोगटीको कमाण्डमा बिशेष टोली परिचालन गरिएको थियो ।
प्रहरी टोलीले काठमाण्डौं महानगरपालिका वडा न. १६ बाट विकेश पण्डितलाई वरामद भएको हतियार र गोलीसहित पक्राउ गरेको थियो । पण्डितसँगको प्रारम्भिक सोधपुछको क्रममा हतियार ओसारपसार गर्न लगाउने व्यक्ति अमर सिंह तामाङ घले भएको खुलेको थियो । लगत्तै प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा नुवाकोट प्रहरीसँग समन्वय गरेर उनलाई पनि नुवाकोटस्थित घरबाट नै पक्राउ गरिएको थियो । उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा अमर तामाङ डाँका मुद्दामा ६ बर्ष २ महिना कैद सजाय भुक्तान गरी २०७६ फागुन १२ गते थुना मुक्त भएका थिए । जेलमा बस्दा उनले उक्त हतियारबारे थाह पाएको खुलेको छ । प्रहरीका अनुसार जेलमा लागुऔषध मुद्दामा सजाय भोगीरहेका धादिङका राजकुमार गुरुङले बालाजु एरियामा लुकाएर राखेको हतियार अपराधिक मनसायले बोक्ने र ओसारपसार गर्ने गरेको पाइएको छ । अन्य संलग्न व्यक्तिको खोजतलास भइरहेको तथा सुक्ष्मढंगले अनुसन्धान भइरहेको पनि एसएसपी थापाले बताए ।