विराटनगर: प्रदेश १ सरकारले अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने भएको छ ।
एक वर्ष भित्रमा निर्माण सम्पन्न हुने गरि प्रक्रिया अघि बढाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्लीसम्म जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । प्रयोगशाला स्नातकोत्तर क्याम्पस विराटनगरको जमिनमा निर्माण गरिने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले उक्त प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय र सुलभ मूल्यमा सेवा दिने बताए ।
मन्त्रालयले क्याम्पससँग जग्गाप्राप्ति सम्बन्धी सम्झौता आज गरेको छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र क्याम्पस प्रमुख महेशकुमार खत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रयोगशलाको भवन सेभ द चिल्ड्रेनले निर्माण गर्ने भएको मन्त्रालयका सचिव कार्कीले बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरी सञ्चालन हुने प्रयोगशालाको सञ्चालन स्वीकृति दिने, नियमित अनुगमन र गुणस्तर मापनको काम गर्ने जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । प्रयोगशालाले महामारीको समयमा विशेष परीक्षण गर्ने, प्रयोगशालाकर्मीको क्षमता विकास तालिम दिने, विगतमा फैलिएको महामारी देखा परेमा पुन पहिचान गरिने र नयाँ रोगको परीक्षण गर्ने, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रयोगशालाको गुणस्तर मापनका लागि समन्वय र सहकार्य गर्ने बताए ।