धरान: विभिन्न माग राखेर आन्दोलन शुरु गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट(जेआर) डाक्टरहरुको माग सम्बोधन गर्न एक कार्यदल गठन गरिएको छ ।

हिजो आइतबारदेखि हातमा कालोपट्टी बाँधेर जेआरहरुले काम शुरु गरेपछि प्रतिष्ठान व्यवस्थापनले वार्तामा बोलाएर कार्यदल गठन गरिएको जानकारी दिएको हो । कार्यदल गठन भएको जानकारी पाएसँगै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले सोमबारदेखिको कडा आन्दोलन तत्काललाई स्थगित गरेको छ । उपकुलपति डा.ज्ञानेन्द्र गिरीले समग्रमा कोभिड १९ व्यवस्थापनमा देखिएको समस्या हल गर्ने गरि कार्यदल गठन गरेको जानकारी दिइएको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.अरुण सापकोटाले बताए ।

‘जेआरहरुसँगै सगम्र समस्या हल गर्ने गरि कार्यदल बनेको छ, त्यसमा जेआरहरुको पनि प्रतिनिधि राख्छौं भन्नु भयो,’सोसाइटीका उपाध्यक्ष डा.सापकोटाले भने,‘तत्कालको लागि सोमबारदेखि इर्मजेन्सीबाहेक अन्य ठाउँमा काममा नजाने आन्दोलनको कार्यक्रम स्थगित गरेका छौं ।’ उनका अनुसार कार्यदलको निष्कर्ष नआएसम्म दबाबमुलक हातमा कालोपट्टी बाँधेर काम गरिनेछ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले जुनियर डाक्टरहरुको मागलाई व्यवस्थापनले सकरात्मकरुपमा नै लिएको र अस्पताल निर्देशकको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको बताए । ‘जेआरहरुको माग सकारात्मक छन्, उहाँहरुले माग नराखे पनि समाधान गर्ने प्रयत्नमै छौं,’रजिष्ट्रार डा.रेग्मीले भने,‘अस्पताल निर्देशकको नेतृत्वमा कार्यदल बनेको छ । त्यहाँ जेआरहरुको पनि प्रतिनिधि रहन्छ ।’

 

कोभिड उपचारमा अग्रपंक्तिमा खटिएका जेआरहरुले न्युनतम सेवा सुविधा पनि नपाएको गुनासो गर्दै आन्दोलन गर्नुपरेको बताएका छन् । जेआरहरुले कोभिड अस्पतालमा डिउटीमा खटिदा र त्यसपछि क्वारेन्टिनमा बसेको बेला पनि गुणस्तरहिन खाना दिइएको र खानै नसकेर भोकै बस्नु पर्ने वा कोठाबाट मगाएर खानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । सोसाइटीका अनुसार स्वास्थ्य मन्त्रालयले जेआरहरुलाई डिउटीमा खटाउदा लगातार १४ दिन र दैनिक १० घण्टाभन्दा बढी खटाउन नमिल्ने निर्देशिका जारी गरेको छ । तर, प्रतिष्ठानमा भने एउटै विभागको १ महिनासम्म डिउटी राखिएको छ । जेआरहरुले मन्त्रालयको निर्देशिका अनुसार मात्र डिउटी राख्न माग गरेका छन् ।

यस्तै, सोसाइटीले लेभल ३ कोभिड अस्पतालमा चौबिसै घण्टा एक जना कन्सल्टेण्ट कोभिड डिउटीमा फ्लोरमा नै खटिनुपर्ने पनि माग गरेको छ । हाल भने कोभिड अस्पतालमा बिहान र बेलुकी राउण्डमा मात्र कन्सल्टेण्ट आउने गरेका छन् भने केही समस्या पर्दा फोन गर्नुपर्ने अवस्था रहेको छ । सोसाइटीले कामको समय र त्यसपश्चात क्वारेन्टिनमा बसेका जेआरहरुलाई खाने र बस्ने सुविधामा पुनार्वालोकन गर्न पनि जोडदार माग गरेको छ । हाल उपलब्ध भएको खाना गुणस्तरहिन भएको र खानै नसकिने भएकोले १२ घण्टा डिउटीमा खटेका जेआरहरु नखाई सुत्नुपर्ने वा कोठाबाट खाना मगाएर खानुपर्ने अवस्था रहेको सोसाइटीको भनाई छ ।

यस्तै, कोभिड डिउटीमा खटिने चिकित्सकहरुको जोखिम भत्ताको बजेट मन्त्रालयबाट आइसके पनि उपलब्ध नभएको भन्दै सोसाइटीले चाडो प्रदान गर्न पनि माग गरेको छ । साथै, कोभिड अस्पतालमा शव व्यवस्थापनमा पनि जेआरहरुलाई खटाइने गरिएको भन्दै सोसाइटीले उक्त काम तत्काल अन्त्य गर्न पनि माग गरिएको छ । कोभिड अस्पताल सञ्चालनमा आइसकेकोले इमर्जेन्सीमा बनाइएको आइसोलेसन तत्काल बन्द गरि शंकास्पद विरामीहरुलाई कोभिड अस्पतालमा नै सिधै भर्ना गर्न माग जेआरहरुको माग छ । प्रतिष्ठानले मुख्य इमर्जेन्सीमा इ एरियालाई आइसोलेसन एरिया बनाएर शंकास्पद व्यक्तिहरुलाई पिसिआर रिपोर्ट नआएसम्म त्यहाँ घण्टौं राख्ने गरेको छ । अलग्गै राखेपनि ती व्यक्तिहरु प्रवेश गर्ने ढोका एउटै भएकोले अन्य विरामीहरुसँगै स्वास्थ्यकर्मीहरु संक्रमण हुने जोखिम उच्च छ ।