धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनरल आइसियुमा उपचाररत एक विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि असुरक्षित भएको भन्दै त्यहाँ कार्यरत नर्स र अन्य विरामीका कुरुवाहरु आन्दोलित भएका छन् ।
संक्रमण पुष्टि भएका विरामीको उपचारमा संलग्न डाक्टरहरुलाई क्वारेन्टिनमा राखिए पनि आफुहरुलाई वेवास्ता गरिएको, मास्क र पञ्जासमेत पर्याप्त मात्रामा उपलब्ध नभएको भन्दै आइसियुका नर्सहरु प्रशासनमा धर्नामा बसेका छन् । उनीहरुले शंकास्पद विरामीलाई आइसियुमा ल्याएर स्वास्थ्यकर्मी र अन्य विरामीहरुको स्वास्थ्यमाथि खेलवाड गरिएको पनि गुनासो गरेका छन् ।
आइसियुमा ६ वटा वेडमा विरामी रहेकोमा वेड नं १ मा रहेको विरामीको हिजो राती पिसिआर रिपोर्ट पोजेटिभ आएको एक नर्सले बताइन् । आफुहरु पोजेटिभ विरामीको सम्पर्कमा आएको र परिवारहरुसँगै बस्ने भएकोले प्रतिष्ठानले क्वारेन्टिनमा बस्नुपर्ने भएपनि व्यवस्था नगरिएको बताए । ‘हामी एक्स्पोज भइसके पछि अब घरमा गएर कसरी बस्नु ?’ नर्सले भनिन्,‘यहाँ फेस सिल्ड पनि सबैलाई पर्याप्त छैन । एन ९५ मास्क पनि दिदैनन् । सर्जिकल मास्क पनि कहिले पाउछ, कहिले पादैन, पञ्जा पनि दिदैनन् ।’
अहिलेसम्म फ्रन्टलाइनमा काम गर्ने नर्सहरुलाई आश्वासन दिने वा मनोवल बढाउने पनि नआएको उनीहरुको गुनासो छ । अरु हस्पिटलको उदाहरण दिदै हतोत्साहित बनाउने गरेको नर्सहरुले बताए । नर्सहरु आन्दोलनमा उत्रिए पछि अहिले मेट्रोनको कार्याकक्षमा वार्ता भइरहेको छ । नर्सहरुको तर्फबाट ३ जना प्रतिनिधि वार्तामा छन् ।
अन्य विरामीको कुरुवा भन्छन्,'संक्रमण फैलिए जिम्मेवारी कस्ले लिने ?'
आइसियुमा उपचाररत अन्य विरामीका आफन्तहरुले पनि स्टाफ नर्सहरुको आन्दोलनलाई समर्थन जनाउदै धर्नामा बसेका छन् । उनीहरुले पनि आइसियुमा पिसिआर रिपोर्ट नआई संक्रमितहरुलाई राखेर अन्य विरामीहरुलाई संक्रमणको जोखिममा पारेको बताएका छन् । ‘मेरो आमा २ नम्बर बेडमा हुनुहुन्छ, राती १ नम्बर बेडको विरामी पोजेटिभ रिपोर्ट आएछ,’धरानी जशोदा लिम्बुले भनिन्,‘हाम्रो आमा बुबालाई केही भयो भने जिम्मेवारी कस्ले लिन्छ ?’
उनले नर्सहरुले धेरै राम्रो उपचार सेवामा खटिए पनि अस्पताल प्रशासनले मास्क र पञ्जासमेत नदिएको भन्दै आलोचना गरिन् । नर्सहरुलाई विरामीका कुरुवाहरुले नै पञ्जा किनेर दिनुपर्ने अवस्था भएको पनि उनले बताइन्् । ‘पिसिआर चेक गरेर मात्र विरामी ल्याउनुपर्छ । रातदिन खटिने नर्सहरुलाई मास्क र पञ्जा त दिनुपर्छ नि,’उनले भनिन् ।