धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा ११ सय ५ जनाको पिसिआर परिक्षण भएको छ ।
ती मध्ये ४१ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ । ती मध्ये ८ जना मात्र धरानमा स्वाब लिइएका व्यक्तिहरुको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । 'वीपीमा परिक्षण गरिएको ४१ जनामा संक्रमण देखिएको छ, त्यसमध्ये पनि यहाँ स्वाब संकलन गरिएको ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो,'प्रवक्ता डा.सापकोटाले भने ।
उनका अनुसार वीपीमा स्वाब संकलन भएर पोजेटिभ आएका ८ जनामध्ये पनि ४ जना मात्र सुनसरीका हुन् । धनुषाका २ जना, मोरंगका १ जना र सिराहाका १ जनाले पनि स्वाब वीपीमा नै दिएका थिए । सुनसरीका ४ जना कन्ट्याक ट्रेसिंगबाट स्वाब परिक्षण गर्दा पोजेटिभ आएको डा.सापकोटाको भनाई छ । ती मध्ये १ जना इटहरीका हुन् भने १ जना प्रतिष्ठानको इर्मजेन्सीका हेल्थ एड हुन् । उनी प्रतिष्ठानकै क्वार्टरमा बस्छन् । यस्तै, २ जना धरान १७ का छन् ।
बुहारी र नातिनी पछि सासु पनि संक्रमण
धरान १७ स्थित रेल्वेमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण पुष्टि भइसकेकी आमा-छोरी होम आइसोलेसनमा छन् । सोही घरमा आज सासुको पनि रिपोर्ट पोजेटिभ आएको छ । वृद्धको अवस्था हेरेर घरमै राख्ने कि अस्पताल पठाउने भनेर बुझ्ने काम भइरहेको वडाअध्यक्ष मनोज भट्टराईले जानकारी दिए ।
यस्तै, एक जना महिलालाई पनि संक्रमण पुष्टि भएको छ । उनलाई कोभिड शंका गरेर यसअघि नै कोभिड अस्पतालमा राखिएको थियो । उनलाई हल्का ज्वरो आएपछि पहिलो पटक पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर, लक्षण कोभिडकै भएकोले पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।