धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रदेश २ को सिराह नगरपालिका २ का ५५ बर्षीय एक पुरुष हुन् । उनको आज साँझ पौने ७ बजे उपचारको क्रममा कोभिड १९ अस्पतालमा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार मृतक अस्पताल आउनु अघि ३ दिनदेखि निरन्तर खोकी, श्वास फेर्न समस्या र ज्वरो आएका थिए । परिवारले उनलाई सिधै वीपी प्रतिष्ठान ल्याएको थियो ।
उनलाई भदौ ६ गते मेडिसिन वार्डमा भर्ना गरिएको थियो भने भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको र २ दिनदेखि आइसियुमा उपचाररत रहेको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । मृतकलाई उच्च रक्तचाप पनि थियो भने २० बर्ष अघि क्षयरोग भएर १८ महिना औषधि सेवन गरेको पनि जानकारी परिवारले दिएको छ । मृतकको शव प्रोटोकल अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।