धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक १० बर्षीय बालिकाको अण्डासयमा भएको ट्युमरको दुरविन प्रविधिबाट सफल उपचार भएको छ ।

इटहरीका १० बर्षीय बालिकाको अण्डासयको ट्युमरको प्रतिष्ठानमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । गाइनो विभागका एडिस्नल प्रोफेसर डा.अजय अग्रवालको नेतृत्वमा एसिस्टेन्ट प्रोफेसर डा.मदन खड्कासहितको टिमले सफल शल्यक्रिया गरेको हो । करिब एक साताअघि पेटको समस्या लिएर बालिकाको अभिभावक प्रतिष्ठान आएका थिए । उनको सिटी स्क्यान गर्दा पेटमा दुवै अण्डासयमा ट्युमर रहेको पुष्टि भएको थियो ।

gaino

डा.अग्रवालका अनुसार एका तिर १० सेन्टिमिटरको ट्युमर थियो भने अर्कोतिर १५ सेन्टिमिटरको ट्युमर थियो । सामान्यतया बच्चामा यस्तो ट्युमर पलाएको हुदैन । ती बालिकालाई अप्रेशन गर्ने २ वटा विकल्प थियो, एउटा पेट चिरेर गर्ने र अर्को दुरविन प्रविधिबाट गर्ने । पेट चिरेर गर्दा सानो बच्चा भएकोले केही जोखिमहरु थियो । पेट चिर्दा घाउ हुने र पाक्ने जोखिम हुन्थ्यो भने बच्चा बढ्दै गएपछि दाग देखिने हुन्थ्यो । साथै, पेट चिरेर गर्दा आन्द्रा पनि चलाउनुपर्ने भएकोले पछि समस्या आउन सक्थ्यो । ‘त्यसैले हामीले दुरविन प्रविधिबाट नै अप्रेसन गर्ने निर्णय गर्यौ, यो भन्दा अघि बच्चाको यसरी अप्रेशन भएको थिएन,’डा. अग्रवालले भने ।

gaino1

विगतमा बच्चाको अप्रेसन दुरबिन प्रविधिबाट प्रतिष्ठान नभए पनि डा. अग्रवालले भर्खर ताइवानबाट तालिम लिएर आएका थिए । त्यसैले ती बालिकाको अप्रेशन सम्भव भएको हो । ‘शुक्रबार अप्रेशन गरेका थियौं, आज बिहानै डिस्चार्ज भएर घर गइसक्नु भयो । पेट चिरेर गरेको भए त यति छिटो घर जान सक्ने थिएन,’डा.अग्रवालले भने । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले पनि यो भन्दा अघि वीपीमा यस किसिमको शल्यक्रिया बच्चामा नभएको बताए । उनका अनुसार दुरविन प्रतिधिबाट उपचार गर्न बिशेष उपकरण र सीपको पनि आवश्यकता चाहिन्छ ।

gaino3