धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा धरानका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने दुवै धरान १७ का हुन् । मृतक दुवै जना रेल्वे चोकका बासिन्दा भएको अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनका अनुसार मृतक आमा छोरा हुन् । योसँगै धरानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । एक जना ७४ बर्षीया वृद्धा हुन् भने अर्का मृतक ६० बर्षीय वृद्ध पुरुष हुन् । वृद्धाको आज बिहान साढे ८ बजे मृत्यु भएको हो । उनलाई हिजो राती ८ बजेर ३७ मिनेटमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई आज बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक वृद्धालाई मधुमेह, उच्च रक्तचापको पनि समस्या थियो ।

यसैगरि, अर्का निधन भएका वृद्धको आज बिहान ७ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ । उनलाई पनि हिजो राती नै प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको पनि पिसिआर रिपोर्ट आज बिहान नै पोजेटिभ आएको हो । मृतकलाई मधुमेहको समस्या भएको र २ महिनादेखि कलेजको पनि समस्या देखिएको थियो । दुवै मृतकको शवको व्यवस्थापन नियमानुसार भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।