धरान: अहिले हरेक अस्पतालमा उपचारमा आएका विरामीलाई सल्यक्रिया गर्नुपर्यो भने पिसिआर जाँच गरिन्छ । रिपोर्ट नेगेटिभ आयो भने मात्र थप उपचार प्रक्रिया अघि बढ्छ ।

सामान्य अप्रेसन भए त पिसिआर रिपोर्ट पर्खनु ठिकै हो, तर इर्मजेन्सी अप्रेसन गर्नुपर्ने भयो भने के गर्ने ? पिसिआर रिपोर्ट पर्खने कि बिरामीको ज्यान बचाउनतिर लाग्ने ? स्वास्थ्यकर्मीहरुलाई पनि यो प्रश्नले द्धिविधा बनाउछ । तर, धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका युरोलोजी युनिटले एउटा उदाहरणीय अप्रेसन गरेका छन् ।

अस्पतलामा अप्रेसन हुनु सामान्य नै हो । तर, अहिले कोडिभ १९ को महामारीको बेला पिसिआर पर्खने कि बिरामीको ज्यान जोगाउने भन्ने जटिल प्रश्नलाई चिर्दै युरोलोजी युनिटले पिसिआर रिपोर्ट नपर्खि नै अप्रेसन गरेको थियो । जसले गर्दा ती विरामीको ज्यान जोगिन सफल भयो । प्रतिष्ठानका अनुसार मोरङका ७८ बर्षीय वृद्ध भदौ ९ गते इर्मजेन्सीमा आएका थिए । उनी विगत २ बर्षदेखि प्रोस्टेटको समस्या(सम्भावित क्यान्सर)सँग जुधिरहेका थिए ।

वीपीको इर्मजेन्सीमा आउनु २ साताअघि मात्र उनको विराटनगरको एक अस्पतालमा शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि उनको पटक पटक मुत्रथैलीमा रगत जम्ने समस्याले पीडित भएका थिए । वीपीको इर्मजेन्सीमा आउदा ती वृद्धको ७ घण्टादेखि पिसाब बन्द भएको थियो, र अत्यधिक दुःखाईले उनी छटपटिरहेका थिए । जाँच गर्दा मुत्रथैलीमा रगत जमेको देखिए पछि आकस्मिक शल्यक्रियाको तयारी गरियो ।

पिसिआर गर्ने कि पहिला अप्रेसन गर्ने ? यो अन्योललाई चिर्दै युरोलोजी युनिट प्रमुख डा.सुधिर सिंहको नेतृत्वमा डा. आवाज काफ्ले र नर्सहरु शारदा शिवा, कविता लिम्बुको टोलीले शल्यक्रिया सम्पन्न गरे । स्वास्थ्यकर्मी टोलीले पुर्ण सर्तकता अपनाएर शल्यक्रिया गरेको थियो । शल्यक्रिया पछि मात्र विरामीको पिसिआर परिक्षण गरिएको र पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार त्यसपछि वृद्धलाई कोभिड अस्पतालमा स्थानान्तरण गरिएको र ६ दिनसम्म निगरानी गरेर उपचार गरिएको छ । ‘विरामीलाई सम्भावित कोरोना हुनसक्ने दुरदर्शिता, आवश्यक सर्तकता अपनाउदै विरामीको आकस्मिक शल्यक्रिया गर्ने निर्णयको कारण विरामीको जीवन रक्षा मात्र नभै आफन्त र संलग्न सबैको कल्याण भएको छ,’प्रवक्ता डा.सापकोटाले भनेका छन् ।

स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ

सम्भावित कोरोना संक्रमण हुनसक्ने दुरदर्शिता अपनाउदै डाक्टर, नर्सहरुले पिपिई र अन्य आवश्यक उपकरणहरु प्रयोग गरेर शल्यक्रिया गरेका थिए । वृद्धको शल्यक्रिया रुटिन ओटीमा नै भएको थियो ।

डा.सुधिर सिंहका अनुसार विरामी घण्टौंदेखि पिसाब बन्द भएर छटपटाइरहेका थिए । त्यसैले पिसिआर जाँचको रिपोर्ट पर्खने अवस्था नै थिएन । ‘हामीले आवश्यक सुरक्षा सामग्रीसहित सर्तकता अपनाएरन नै अप्रेसन गर्यौं । अप्रेसनलगत्तै ओटीलाई सेनिटाइज पनि गर्यौं,’डा.सिंहले भने,‘यसले सिल गरेर अन्य विरामीलाई दुःख पाउने अवस्था पनि भएन । हामी पनि क्वारेन्टिनमा बस्यौं ।’

अप्रेसन पछि विरामीको पिसिआर पोजेटिभ आयो । विरामीमा सम्भावित संक्रमणको आशंकाले स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा बसिसकेका थिए । पाँच दिपछि उनीहरुको पिसिआर जाँच भयो । सबै स्वास्थ्यकर्मीहरुको रिपोर्ट नेगेटिभ आएको छ । ‘हाम्रो रिपोर्ट नेगेटिभ आयो, आजदेखि काममा फर्कन्छौं,’डा.सिंहले भने,‘पुर्णसर्तकता अपनाएर स्वास्थ्यकर्मीले काम गर्यो भने आफु र अरुलाई पनि कोभिड सर्नबाट जोगिन्छ । विरामीले पनि समयमा नै उपचार पाउछ ।’