धरान: आज धरानमा २ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।
संक्रमण पुष्टि हुनेमा धरान १९ का एक एक पुरुष र धरान १० की एक महिला छिन् । धरान १९ को धनकुटे रोडस्थित बुढासुब्बा फुटसल नजिकै घर भएका ३१ बर्षीय पुरुषलाई संक्रमण देखिएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १२ को कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङ पछि उनको स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बुका अनुसार संक्रमित व्यक्ति भेन चालक हुन् । उनी घरमा नै आइसोलेसनमा रहेको र कुनै लक्षण नदेखिएको अध्यक्ष लिम्बुले बताए । ‘धरान १२ को संक्रमित व्यक्तिको साथी रहेछ, त्यसैले कन्ट्याक ट्रेसिङ भएको रहेछ,’उनले भने,‘अहिले घरमा नै हुनुहुन्छ, आइसोलेसनमा लैजाने कुरा छ । तर लक्षणहरु केही छैन ।’
यस्तै, धरान १० की २३ बर्षीय महिलालाई पनि संक्रमण पुष्टि भएको छ । उनको पनि कन्ट्याक ट्रेसिंगकै क्रममा पिसिआर परिक्षण गरिएको थियो । उनी पनि होम आइसोलेसनमा नै रहेकी छिन् । योसँगै धरानमा कुल संक्रमितहरुको संख्या १७२ पुगेको पनि स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।