धरान: ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका एक थुनुवासहित आज धरानमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुने थुनुवा धरान १४ का २० बर्षीय युवा हुन् । उनी ज्यान मार्ने उद्योगका अभियुक्त हुन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनीसँगै पिसिआर गर्ने अन्य ४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । 'पिसिआर गरेको र नगरेका थुनुवाहरुलाई अलग्गै राख्ने व्यवस्था छ । पाँच जनाको पिसिआर गरेकोमा एक जनाको मात्र पोजटिभ आएको हो,'डिएसपी बस्नेतले भने ।
यस्तै, धरान १७ मा आज पनि ३ जना संक्रमित थपिएका छन् । केही दिनअघि एकै घरका आमा छोराको मृत्यु भएपछि मृतक परिवारसहित छरछिमेक गरि ३० जनाको स्वाब संकलन गरिएको थियो । ती मध्ये २ जना मृतक परिवारका पुरुष हुन् भने अर्का एक जना छिमेकी भएको वडाअध्यक्ष मनोज भट्टराले जानकारी दिए ।
यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षा शाखाका थप एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । यसअघि सोही शाखाका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिंगको आधारमा अन्यको पनि स्वाब संलकन गरिएको थियो । ती मध्ये एक जना ४४ बर्षका कर्मचारीलाई संक्रमण पुष्टि भएको उनले बताए । उनी धरानको वडा १६ को सनमार्ग निवासी हुन् ।