धरान: धरानमा कोरोना संक्रमण पुष्टि भएकाको कुल संख्या २ सय पुगेको छ ।

आज ३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संख्या २०० पुगेको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन भएका ३ जनामा संक्रमण पुष्टि भएको हो । ती मध्ये एक जना ४ महिनाको बच्चा पनि छन् ।

मेहताका अनुसार प्रतिष्ठानको गाइनो वार्डमा कार्यरत नर्सका ४ महिनाकी छोरीमा पनि कोरोना पोेजेटिभ देखिएको हो । यस्तै, एक जना धरान ११ का ८५ बर्षीय वृद्धमा पनि संक्रमण पुष्टि भएको छ । उनी अस्पतालमा भर्ना भएर उपचाररत अवस्थामा स्वाब परिक्षण गरिएको मेहताले जानकारी दिए । यसैगरि, एक जना धरान ११ ठेगाना लेखाएका ३७ बर्षीय पुरुष छन् । तर, उनलाई सम्पर्क गर्दा विराटनगरका अर्कै व्यक्तिले फोन उठाइरहेकोले सम्पर्क हुन नसकिरहेको पनि उनले बताए । ‘फोन नम्बर गलत परेर होला अर्कैले उठाइरहेको छ,’उनले भने ।

हालसम्म धरानमा संक्रमण पुष्टि भएक २ सय मध्ये विदेशबाट आएका ४२ जनामा संक्रमण पुष्टि भएको छ भने धरानका समुदायस्तरका ८६ जनामा संक्रमण पुष्टि भएका छन् । यस्तै, वीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी र तिनका परिवार सदस्यहरु ४२ जनामा संक्रमण पुष्टि भएको छ भने नेपाल आर्मीका ३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, धरानमा ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । डिस्चार्ज हुने संख्या यकिन हुन नसके पनि ६५ भन्दा बढी डिस्चार्ज भइसकेका छन् ।