धरान: गत भदौ पहिलो साता धनुषाको जनकपुरमा मोटरसाइकल दुर्घटनामा परी ३२ बर्षीया एक महिला गम्भीर घाइते भइन् । टाउकोमा चोट लागेको ती महिलाको सिटिस्क्यान गर्दा दिमागमा रगत जमेको देखियो । स्वास्थ्यकर्मीहहरुले तत्काल अप्रेसन गर्न सुझाव दिए ।

उनलाई परिवारले विराटनगरको एक निजी अस्पताल पुर्याए । उनको होस पनि थिएन । टाउकोको अप्रेसन गर्ने तयारी गरियो । तर, अप्रेसन पुर्व पिसिआर जाँच गर्दा महिलामा कोरोना पोजेटिभ देखियो । उनको तत्काल अप्रेसन रद्द त भयो नै, कोभिडको पनि थप उपचार गर्नुपर्ने अर्को आपत आइलाग्यो । निजी अस्पतालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिदियो ।

ती महिलालाई करिब ११ दिनअघि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । यहाँको न्युरो चिकित्सक डा. आलोक दाहालले आवश्यक जाँच गरे । होस अलिअलि मात्र थियो । टाउकोमा रगत जताततै बगेको थियो, तर अप्रेसन गर्नु नपर्ने निर्णयमा डा.दाहाल पुगे । त्यसपछि, कोभिड अस्पतालमा ती महिलाको कोरोनासँगै टाउकोको गम्भीर उपचार पनि शुरु भयो । ‘विराटनगरबाट अप्रेसन गर्नेबेला पिसिआर पोजेटिभ आएर रिफर भएको थियो, यहाँ आएपछि हेर्दा अप्रेसन गर्नुपर्ने देखिएन, तर रगत चै जताततै थियो,’डा.दाहालले भने,‘विरामीलाई औषधी नै दियौं, र सुधार हुदै गयो ।’

डा. दाहालका अनुसार वीपीमा आउदा ती महिलाको दिमागको दुवै पाटोमा रगत जमेको थियो । एकापट्टी अत्यधिक थियो भने अर्कोपटि थोरै थियो । उनको अप्रेसन नगरि नै निको भयो । कोभिड अस्पतालमा रहदा प्रत्येक दिन डा.दाहाल आफै प्रत्यक्ष राउण्डमा जाने गर्थे । अप्रेसन नगरि नै ती महिलाको टाउकोमा भएको रगत सुक्यो । यसलाई चिकित्सा विज्ञानमा ‘कन्जरभेटिभ म्यानेजमेन्ट’ भन्छ ।

उनलाई शुरुमा कोभिड अस्पतालमा आइसियुमा राखेर उपचार गरिएको थियो । सुधार हुदै गएपछि एमडियुमा राखिएको थियो भने पिसिआर पनि नेगेटिभ आएपछि २ दिनअघि वार्डमा सारिएको छ । ती महिलाको १० औं दिनमा पिसिआर नेगेटिभ आएको थियो । त्यसबेला उनको सिटिस्क्यान गर्दा रगत पनि टाउकोभित्र सुकिसकेको अवस्था थियो । ‘अप्रेसन नगरी नै औषधीबाट निको हुनुभयो । पिसिआर पनि नेगेटिभ आएपछि वार्डमा सारिएको छ,’डा.दाहालले भने,‘धेरै राम्रो हुनु भएकोले सम्भवत भोली डिस्चार्ज गछौं ।’

तत्कालिन अस्पताल सहायक निर्देशक डा.विकास साह ती महिला रिफर भएर आउदा अप्रेसन गर्नुपर्ने भएपनि तयारी गरिएको बताउँछन् । तर, उनलाई अप्रेसन नगरि औषधीबाट नै निको हुनु सुखद भएको उनले प्रतिक्रिया दिए । ‘समन्वय गरेर नै रिफर भएको थियो, प्रशासनको तर्फबाट सम्पुर्ण व्यवस्था भयो । अहिले विरामीको अवस्था राम्रो भयो, खुशी छौं,’पुर्वअस्पताल सहायक निर्देशक डा.साहले भने ।

विरामीका देवरले पनि कोरोना र दिमागमा जमेको रगत एकै पटक उपचार भएकोमा खुशी व्यक्त गरे । ‘जनकपुर र विराटनगरमा चाडो भन्दा चाडो अप्रेसन गर्नुपर्छ भनेको थियो, विराटनगरमा तयारी पनि थियो तर कोभिड भएर समस्या भयो,’देवरले भने,‘पोेजेटिभ आएपछि वीपी आयौं । यहाँ डाक्टरले सर्जरी गर्नु पर्दैन, दुवैको उपचार हुन्छ भन्नु भयो । औषधीबाट नै निको हुनुभयो, धेरै खुशी छौं ।’