धरान: आज धरानमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएकाहरुमध्ये ५ जना इलाका प्रहरी कार्यालयका थुनुवा छन् भने ४ जना प्रहरी पनि छन् । धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार लागुऔषध मुद्दामा रहेका २९, ३४ र २४ बर्षीय थुनुवामा संक्रमण पुष्टि भएको छ भने जर्बजस्ती करणी मुद्दामा रहेका ४६ र ३५ बर्षका थुनुवामा पनि संक्रमण देखिएको छ । यसैगरि, इलाका प्रहरी कार्यालयमा कार्यरत एक जना सई र ३ जना प्रहरी जवानमा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरि, धरान ४ का ३० बर्षीय पुरुष, धरान १५ का ४३ बर्षीय पुरुष, धरान ११ की ४४ बर्षीया महिला, धरान ६ की २७ बर्षीया महिला र धरान १३ को ४३ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै, धरान १९ मा डेरा गरि बस्ने भारतबाट आएका श्रीमान् २९ बर्षका र २४ बर्षीया श्रीमतिलाई पनि संक्रमण पुष्टि भएको छ । मेहताका अनुसार धरान ७ मा ब्रिटिश लाहुरे तालिम केन्द्रका १९, २३, २० र २० बर्षका युवामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्सिनेटरमा कार्यरत सफाईकर्मीलाई पनि संक्रमण पुष्टि भएको मेहताले बताए । योसँगै धरानको कुल संक्रमित संख्या ३११ पुगेको पनि उनले बताए ।