धरान: विश्व प्राथमिक उपचार दिवसको अवसरमा धरान जेसिजको आयोजनामा शनिबार एक दिने 'महामारीमा प्राथमिक उपचार' तालिम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा आयोजित तालिममा विभिन्न क्षेत्रका २२ जना युवायुवतीहरु सहभागी थिए । रेडक्रस भवनमा आयोजित तालिम निःशुल्क दिइएको आयोजक धरान जेसिजका अध्यक्ष दिपेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार तालिम भौतिक दुरी कायम गर्दै मास्क र पञ्जा अनिवार्यरुपमा लगाएर आयोजना गरिएको थियो ।
हरेक बर्षको सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइने गरिन्छ । यसबर्ष महामारीमा प्रथामिक उपचार, अभ्यासहरुमा अनुकुलता भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइएको थियो । महामारीको बेला कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने उद्देश्यले तालिम दिइएको आयोजक संस्थाको भनाई छ । एक व्यक्ति दक्ष भए समुदायमा नै फाइदा पुग्ने भएकोले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
तालिममा विरामीलाई कसरी स्ट्रेचरमा बोक्ने भन्ने प्रोटोकलबारे ज्ञान दिलाइएको थियो भने श्वासप्रश्वासमा गाह्रँे हुँदा छाती कसरी थिच्नेलगायत विरामीलाई व्यवस्थापनको बिषयमा प्रशिक्षित गरिएको थियो । ‘विरामीलाई अस्पताल लैजानुअघि स्पटमा वा घरमा नै गर्नसकिने उपचार पद्दतीबारे तालिम दिइएको हो,’अध्यक्ष निरौलाले भने,‘कोभिड १९ को बेला मात्र होइन, अन्य कुनै पनि महामारी भएको अवस्थामा वा घरमा बसिरहेको बेला स्वास्थ्यमा समस्या भए कसरी प्राथमिक उपचार गर्ने भनेर तालिम दिइएको हो ।’
तालिम नेपाल रेडक्रस सोसाइटीको उपसभापति डम्बरप्रसाद सिग्देल नेतृत्वको टिमले दिएको थियो । सिग्देल नेतृत्वमा नेपाल रेडक्रसको प्राथमिक उपचारको विज्ञ टोली छ । यो टोलीले नेपाल आर्मी, प्रहरीलाई पनि प्राथमिक उपचार तालिम दिने गरेको छ । सुनसरी उद्योग वाणिज्य संघ, धरानका अध्यक्ष गिरीधारी सापकोटाको प्रमुख अतिथ्यमा तालिम सम्पन्न भएको थियो । सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।