धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्टहरु आन्दोलनमा उत्रिएका छन् ।
जनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले माग पुरा गर्न २४ घण्टे अल्टिमेटम दिए पनि सम्बोधन नभए पछि आजदेखि इमर्जेन्सीबाहेकका सम्पुर्ण सेवाहरु छोडेर आन्दोलनमा शुरु गरेका हुन् । जुनियर रेसिडेन्टहरु कोभिड अस्पतालको सेवामा पनि सहभागी भएका छैनन् । उनीहरु उपकुलपति कार्यालयअघि भेला भएर धर्नामा बस्ने तयारीमा छन्, तर निरन्तरको बर्षाले अवरोध भइरहेको छ ।
कोभिड उपचारमा खटिएका जेआरहरुलाई गुणस्तरीय खाना, जोखिम भत्ता, व्यवस्थित क्वारेन्टिन, कोभिडमा एक जना कन्सल्टेन्टको चौबिसै घण्टा उपस्थिति रहनुपर्नेलगायत विभिन्न माग सोसाइटीले राखेको थियो । झण्डै एक महिना अघि प्रस्तुत गरिएको मागबारे एक समिति गठन भएर सहमतिमा हस्ताक्षर पनि भएको थियो । तर, कार्यान्वयन नभएपछि पुनः जेआरहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले कोभिड उपचारमा खटिएकाहरुलाई अझै पनि गुणस्तरहिन खाना दिइरहेको र क्वारेन्टिन पनि अव्यवस्थित रहेको गुनासो गरेका छन् ।
सोसाइटीका उपाध्यक्ष पदम नेपालीले उपकुलपति कार्यालयअघि जेआरहरु भेला हुने क्रम जारी छ । ‘हामी भेला हुने क्रम जारी छ, पानी परिरहेकोले केही ढिलाई भयो । हामी धर्ना बस्ने हो,’उपाध्यक्ष नेपालीले भने,‘पदाधिकारीहरु पनि समस्या समधान गर्न लागिपरेको जानकारीमा आएको छ, आशा छ, हाम्रो माग चाडै सम्बोधन हुनेछ ।’